arrow

आयोगले मतदाताको अन्तिम नामावली निकाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो । उनलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो । उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए । 
 
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो । उनी यही आइतबार कारागार मुक्त भएका थिए । निलम्बन फुकुवा भएसँगै उनको सांसद पद कायम भएको छ ।
 
निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा सदस्य सङ्गीता मण्डल धानुक, राष्ट्रिय सभा सदस्य दुर्गाकुमारी गुरुङ, प्रदेश सभा सदस्य सरस्वती खड्का र सञ्जुकुमार चौधरीको विवरण सच्याएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । 

नामावली सच्याएर कार्यालयले आजै अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । 

शनिबार उम्मेदवारको मनोनयन तोकिएको छ । भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ