जेन–जी आन्दोलनपछि पहिलो पटक 'देउवा, ओली र प्रचण्ड' एकै साथ, शीतल निवासमा राजनीतिक मन्थन
प्रमुख दलका नेताहरूलाई सहकार्यका लागि आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
2.4k
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले संयुक्त रूपमा भेटवार्ता गरेका छन्।
मङ्गलबमर भएको उक्त भेटमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी थिए।
गत भदौमा भएको ‘जेन–जी’जनआन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनपछि यी शीर्ष नेताहरू पहिलो पटक एकै स्थानमा भेला भई संयुक्त छलफलमा जुटेका हुन्। राष्ट्रपतिको सचिवालयका अनुसार भेटको मुख्य एजेन्डा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा रहेको छ।
भेटका क्रममा राष्ट्रपति पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँदलीरहित बनाउन तथा आन्दोलनपछि सिर्जित नयाँ राजनीतिक परिवेशमा सबै दललाई सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गरेका छन्। जवाफमा नेताहरूले निर्वाचनको वातावरण निर्माण गर्न र शान्ति सुरक्षा कायम राख्न सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आन्दोलनपछिको बदलिएको समीकरणमा पुराना र नयाँ राजनीतिक शक्तिहरूबीचको समन्वय, सुशासनको प्रत्याभूति र निर्वाचनको सुनिश्चितताका विषयमा यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अन्तरिम सरकारले फागुन २१ को निर्वाचनलाई ‘महायज्ञ’ का रूपमा लिँदै तयारी तीव्र पारेको सन्दर्भमा प्रमुख दलका शीर्ष नेताहरू एकै ठाउँमा उभिनुले निर्वाचन हुनेमा थप विश्वास जगाएको छ।