arrow

राष्ट्रपति कार्यालयबाट भीमेश्वरमा क्षमापूजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
dolakha-bhimeeshwor-temple.jpg

काठमाडौँ । दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा राष्ट्रपति कार्यालयबाट क्षमा पूजा र रुद्राविशेष गरिएको छ । देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयबाट कोरा पूजासहितको क्षमापूजा र रुद्राविशेष गरिएको हो ।

जीवित देवी कुमारीले दोलखा भीमेश्वरको शीलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि राष्ट्रपति कार्यालयको तर्फबाट क्षमा पूजा गरिएको बताइएको छ ।

भीमेश्वरको सिलामा पसिना आउनेबित्तिकै राष्ट्रप्रमुखको तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने परम्परा रहेको भीमेश्वर गुठी व्यवस्थापन समिति सचिव राजेन्द्र नारायण श्रेष्ठले बताए । 

राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव इश्वरीप्रसाद पाण्डे, सहायक स्वकीय सचिव सुशील तिमल्सिना र काठमाडौँस्थित कुमारी घरका अध्यक्ष गौतम शाक्यसहितको टोली दोलखा भीमेश्वर मन्दिर पुगेर पूजामा सहभागी थिए । पूजाको क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सुरक्षाकर्मी पनि मन्दिर पुगेका थिए ।

क्षमा पूजा व्यवस्थापनमा भीमेश्वर नगरपालिका वडा न‌ं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठलगायतका गुठियार सहभागी थिए ।

दोलखा भीमेश्वरको सिलामा पसिना आउँदा त्यसलाई पुछिएको कपासलाई ‘महाप्रसाद’ को रूपमा राष्ट्रपतिलाई पठाउने गरिन्छ । त्यसपछि राष्ट्र प्रमुखको तर्फबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने परम्परा छ ।

यसपटक भने भीमेश्वरको सिलामा पसिना आएको विषयबारे कोही कसैले ध्यान नदिएकाले पूजापाठमा ढिलाई भएको थियो । जीवित देवी कुमारीले यसका कारणले देशमा अनिष्ट भइरहेको बताएपछि मात्र राष्ट्रपति कार्यालयको तर्फबाट क्षमा पूजा र रुद्राविशेष गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ