arrow

सरकारमा उपेन्द्रको एकलौटी, तीन नयाँ मन्त्रीको नाम बुझाए, बाबुराम पक्षका अटाएनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
upendra-baburam.JPG

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सरकारमा सहभागी तीन जना मन्त्रीलाई फिर्ता बोलाएको छ । जसपाले वन मन्त्री राम सहाय यादव, कृषि मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई फिर्ता बोलाएको हो ।

अध्यक्ष उपेन्द्र यादवले मन्त्री पठाउने र फिर्ता बोलाउने अख्तियारी पाएसँगै मन्त्री हेरफेर गरेका हुन् । यादवले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ भने फर्ता बोलाएक छैनन् ।

यादवले प्रधानमन्त्रीसमक्ष प्रदीप यादवलाई वन तथा वातावरण,  मोहम्मद इस्तियाक राईलाई भौतिक निर्माण तथा यातायात र मृगेन्द्र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरेका छन्  । 

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएका थिए । बाबुराम भट्टराईका मन्त्री फिर्ता बोलाइँदा उपेन्द्रले एकलौटी रुपमा आफू पक्षका सांसदलाई मात्र मन्त्रीमा सिफारिस गरेका छन् । 

फिर्ता बोलाइएकामध्ये महिन्द्र राय बाबुराम समूहका हुन् । रेणुकुमारी यादव र रामसहाय यादव भने अध्यक्ष उपेन्द्र समूहकै हुन् । अरु नेतालाई पनि मन्त्री बन्ने मौका दिने भनेर रेणु र रामसहायलाई उपेन्द्रले मनाएका हुन् । 

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने परिवर्तन गरिएको छैन । जसपा फुटको संघारमा पुगेका बेला अध्यक्ष यादवले मन्त्री हेरफेर गरेका हुन् ।

श्रेष्ठ कुनै समय बाबुराम पक्षका थिए । तर पछिल्लो समय भने उनी उपेन्द्र यादवतिरै छन् । 

बाबुराम भट्टराईले जसपा छाड्ने निश्चित जस्तै भएपछि उपेन्द्र यादवले उनी निकटकासँगै पालो दिनका लागि भनेर तीन मन्त्रीलाई फिर्ता बोलाएका हुन् । 

बालुवाटारले भने अहिलेसम्म त्यसलाई फाइनल गरिसकेको छैन । त्यसैगरी यी नाम राष्ट्रपति कार्यालयमा पुगेको भन्ने पनि आएको छैन । 

मन्त्रीमा सिफारिस गरिएका एक मन्त्रीले अहिलेसम्म आफूलाई राष्ट्रपति कार्यालयबाट कुनै फोन नआएको बताएका छन् । 

बाबुरामसहितको पक्षधर अब नयाँ पार्टी खोल्ने कि कुनै पार्टीमा समाहित हुने भनेर कुरिरहेको छ । स्रोतका अनुसार अब बाबुराम फेरि एकपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुसँग बसेर नयाँ पार्टी निर्माणमा जुटिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ