arrow

बाबुराम भट्टराईलाई कारबाही गर्ने उपेन्द्रको तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
baburam-upendra.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी जसपा फुटको नजिक पुगेको छ । कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र उनी निकट नेतालाई कारबाही गर्ने तयारी गरेका छन् । 

भट्टराईलाई कारबाही गर्न यादवले आफू निकट नेताहरुको बैठक बोलाएर कारबाहीको अधिकार आफंैले लिएका छन् । सोमबार राति उनले आफू निकट कार्यकारिणी समितिका सदस्यहरूको बैठक बोलाएका थिए । स्रोतका अनुसार कार्यकारिणी समितिमा आफ्नो पक्षमा बहुमत जुटेपछि उनले बैठक बोलाएका हुन् । 

३४ सदस्यीय कार्यकारिणी सदस्यमा १९ सदस्य सोमबारको बैठकमा उपस्थिति थिए । बैठकको माइन्युटिङमा १९ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । ३४ जना कार्यकारिणी सदस्यमध्ये एक जना सदस्य रेशम चौधरी जसपाका हुन् कि नागरिक उन्मुक्ति पार्टीका हुन् अझै अन्यौल छ । जसपामा भए पनि उनी कुन पक्षमा छन् त्यो पनि खुलेका छैन । दुवै पक्षले रेशमलाई आफ्नै मान्छे ठान्ने गर्छन् । 

कार्यकारिणी समितिमा आफू बहुमतमा पुगेपछि अर्को पक्षलाई कारबाही गर्ने अधिकार यादवले लिएका थिए । माइन्युटिङमा पार्टी हित विपरीत गतिविधिमा लाग्ने जो कोही नेतालाई पनि स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने अधिकार यादवलाई दिइएको छ । यो सँगसँगै पार्टीले मन्त्री फेर्दा नयाँ सूची पठाउने अधिकार पनि यादवलाई दिइएको छ । 

सोमबारको बैठकमा यादवलाई दुई वटा अधिकार दिइएको छ । भट्टराई पक्षले शुरु गरेको हस्ताक्षर संकलन अभियानलाई लक्षित गरेर यादवलाई कारबाही गर्ने अधिकार दिइएको हो । 

‘हामीले उहाँ (यादव) लाई ‘तपाई दह्रोसँग उभिएर पार्टी चलाउनुहोस् भनेका हौ । पार्टी हित विपरीत गतिविधि भइरहँदा पनि कार्यकारिणी अध्यक्ष चुप बस्न मिल्दैन । पार्टी हित विपरीत काम गर्नेलाई कारबाही हुनुपर्छ’ यादव निकट कार्यकारिणी सदस्य मृगेन्द्रसिं यादवले भने ।   

पार्टी हित विपरीत गतिवधि गर्नेहरूलाई कारबाही गर्नु पर्छ भन्ने पक्ष पार्टीमा स्पष्ट बहमुत रहेको पनि उनले दाबी गरे । 

यता भट्टराई पक्षीय नेताहरु सोमबार बोलाइएको बैठकको बारेमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘सोमबार कार्यकारिणी समितिको बैठक बसेको जस्तो मलाई लाग्दैन । बैठक बसेको भए मलाई बालाउनु पथ्र्यो । म पनि कार्यकारिणी सदस्य हुँ’ भट्टराई निकट कार्यकारिणी सदस्य अमृता अग्रहरीले बताइन् ।

यादव पक्षले कारबाही गर्ने तयारी गरेको थाहा पाएपछि भट्टराई पक्षीय नेताहरू पनि जुर्मुराएका छन् । उनीहरूले मंगलबार अनौपचारिक बैठक बोलाएका थिए । 

स्रोतका अनुसार भट्टराई पक्षीय नेताहरू सकेसम्म पार्टीमा बहुमत जुटाउने, बहुमत जुट्न सक्ने अवस्था नआए ४० प्रतिशत पुर्याएर पार्टी फुटाउने सम्मको तयारी उनीहरूले गरेका छन् । 

यो विवादमा नमुछिएका एक सांसदले भने, ‘शुरुमा भट्टराई पक्षमा बहमुत भएको जस्तो देखियो । त्यसैले उहाँहरु उत्साहित हुनुभयो । आफ्नो पक्षको बहुमत सिद्ध गर्न हस्ताक्षर संकलन गर्नुभयो । तर अहिले परिस्थिति केही फेरिएको छ । कार्यकारिणी र संसदीय दलमा यादव पक्ष बहमुत देखिएको छ ।’

मन्त्री हुने आकांक्षाले पनि यादव पक्ष बहुमत देखिएको उनको बुझाइ छ । धेरैजसो सांसदहरु पार्टीको कार्यकारिणी समितिका सदस्य पनि छन् । मन्त्री हुने आकांक्षाले कोही यादवको पक्षमा खुलेका छन् भने कोही चुप लागेर बसेका छन् । 

ती नेताले भने, ‘तर मन्त्री फेर्ने वित्तिकै यादव पक्षको बहुमत नहुन पनि सक्छ । किनभने मन्त्री नभएकाहरू यादवको विरोधमा उभिने सम्भावना रहन्छ । तर यादवले यसरी चलाखी खेल्दै हुनुहुन्छ कि मन्त्री फेर्नु भन्दा अगाडि उहाँले आफू बहुमतमा भएको बेला अर्को पक्ष (बाबुराम भट्टराई) लाई कारबाही गरिसक्नुहुन्छ ।’ सोमबार यादवले लिएको यस्तो अधिकारले पनि त्यही कुराको संकेत गरेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ