बजेटले प्रविधिको क्षेत्रमा विशेष ध्यान दिएको छ : सांसद विश्वकर्मा
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
493
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले यो विज्ञान प्रविधिको युग भएकाले बजेटले प्रविधिको क्षेत्रमा विशेष ध्यान दिएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद विश्वकर्माले यो विज्ञान प्रविधिको युग भएकाले बजेटले प्रविधिको क्षेत्रमा विशेष ध्यान दिएको र त्यसलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “बजेटले ऊर्जाको क्षेत्रमा देशको आवश्यकताअनुसार प्राथमिकता दिएको छ, जुन बजेटको मुख्य विशेषता हो, सोलार इनर्जीबाट जनताको जनस्तर उठाउनुपर्नेमा बजेट बोलेको छ, आन्तरिक उत्पादनमा जोड दिएको बजेटले, दलित, महिला, उत्पीडित समुदायको लागि बजेटले समेटेको छ, त्यसैले पनि बजेट उत्कृष्ट छ ।”
दलित समुदायका विद्यार्थीले पाउँदै आएको दलित छात्रवृत्ति कार्यक्रमलाई पुनः निरन्तरता दिनुपर्ने उनको माग थियो ।
सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय पूर्वाधारको विषयमा बजेटले प्राथमिकता दिन नसकेको टिप्पणी गरे ।
सांसद मोहनप्रसाद पाण्डेले बजेट पूर्ण रुपमा सन्तुलित छ तर कार्यान्वयन चुनौतीपूर्ण छ भने ।
सांसद अञ्जना विसङ्खेले बजेट दलित, महिला, तथा सिमान्तकृत समुदायका निम्ति पूर्णरुपमा समावेशी रहेको र उत्पादन, बजार व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै कार्यान्वयनमा जोड दिए ।