काँग्रेस कार्यसम्पादन बैठक : महानगरपालिकाको नेतृत्व बारेमा टुङ्गो हुने
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
1.2k
Shares
तस्बिर : रासस
काठमाडौँ। पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भए लगत्तै स्थानीय नेताले अस्वीकार गरेको सार्वजनिक गरिरहेको सन्दर्भमा नेपाल काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ।
अपराह्न २ बजे सानेपास्थित केन्द्रीय कार्यालय बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको मेयर र उपमेयरसहित पाँच दलीय भागबन्डामा कुन–कुन आधारमा गर्ने र काँग्रेसलाई कुन–कुन भागमा पर्ने हो ? सो विषय टुङ्ग्याउन कोसिस गर्नेछ।
‘कार्यसम्पादन समितिको आजको बैठक मुख्यतः महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका बारेमा एउटा टुङ्गोमा पुग्नेछ,’ काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘पाँच दलीय भागबन्डालाई कसरी व्यवस्थापन गर्ने ? भन्नेमा पनि बैठकले आवश्यक निर्णय लिनेछ।’
सत्तारुढ पाँच दलीय गठबन्धन वडा सदस्य तहसम्म नै भागबन्डा गरेर जाने सहमति गरे पनि अझै पनि टुङ्गोमा पुग्न भने सकेको छैन। जसका कारण प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरी घोषणा गरिसक्दा पनि पाँच दलीय गठबन्धनले उम्मेदवार तय गर्न अझै सकेका छैनन्। आगामी ५ वैशाख भित्र स्थानीय तहको भागबन्डा गरिसक्ने निर्णय भएका कारण पनि काँग्रेसलाई आवश्यक निर्णय लिन दबाब छ।