टेलिकमका शेयरधनीलाई २० प्रतिशत बोनस र लाभांश दिने प्रस्ताव पारित
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
945
Shares
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले कम्पनीका सेयर धनीहरूलाई बोनस र लाभांश दिने प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंको त्रिभुवन आर्मी अफिर्स क्लबमा सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएको हो ।
यससँगै अब कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफा बाट कम्पनीका सेयर धनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्नेछ । यससँगै कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुग्ने भएको छ ।
साधारण सभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले साधारण सभामा उपस्थित सेयर धनीहरूलाई स्वागत गर्दै चौधौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।