arrow

देउवाको गृहजिल्लामा कांग्रेसभित्र तीव्र विवाद

एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन हुन थालेपछि बहिष्कार गर्ने चेतावनी 

logo
राम धामी,
प्रकाशित २०७८ फागुन २९ आइतबार
deuab-ssl.jpg

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसभित्रको विवाद बढ्दै गएको छ । स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा पार्टी एकताबद्ध हुनेगरि नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्ला स्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन् । 

१४ औं राष्ट्रिय महाधिवेशन अघि सम्पन्न सातौं जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताहरूले पार्टीलाई एकताबद्ध बनाउन दबाब दिँदै आएका छन् । 

सातौं जिल्ला अधिवेशनका क्रममा क्रियाशील सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियाशील सदस्यहरूको सदस्यता विना कारण नवीकरण नगरिएको भन्दै तत्कालीन जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता विवाद नटुङ्गिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो । 

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको सहयोगमा एकपक्षीय रूपमा जिल्ला अधिवेशन सम्पन्न गर्दै नेपाली कांग्रेस डडेल्धुराको सभापति बनेका परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउदले पार्टी एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि हाल एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन हुन थालेपछि फेरि असन्तुष्टि बढ्न थालेको हो । 

नेपाली कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरिरहेको अवस्थामा एकलौटी रूपमा चुनावी अभियान सञ्चालन गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरूले बहिष्कार गर्ने चेतावनी दिएका छन् । शनिवार परशुराम नगरपालिकाको जोगबुडामा भेला भएका नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन गरिन थालिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

नगर प्रमुख तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति साउदले सातौं जिल्ला अधिवेशनको प्रारम्भ देखिनै पार्टीको विधान विपरीत काम गर्दै इमानदार नेता कार्यकर्ताहरूलाई पेलेर एकपक्षीय रूपमा जिल्ला सभापति भएको र हाल जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको ठुलो हिस्सा असन्तुष्ट रहेको अवस्थामा एक पक्षीय रूपमा चुनावी अभियान घोषणा गरिएकाले अगामी चैत ५ गते वडा स्तर र ८ गते पालिका स्तरमा हुने चुनावी अभियानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका हुन् । 

नेपाली कांग्रेस डडेल्धुराका पूर्व उपसभापति धर्मानन्द भट्टको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले पार्टी एकताबद्ध बनाउनका लागि नेतृत्वलाई दबाब दिने उद्देश्यले सङ्घर्ष समिति समेत गठन गरेको छ । पूर्व उपसभापति भट्टको संयोजकत्वमा गठित सङ्घर्ष समितिका सदस्यहरुमा प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार गोपा थापा, नेपाली कांग्रेस डडेल्धुराका पूर्व सदस्य तथा परशुराम नगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी, भोजराज बोहरा, रामसिंह ऐर, दानबहादुर साउँद र राजबहादुर भण्डारी सदस्य छन् । 

सङ्घर्ष समितिले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा होमिनका लागि नेतृत्वलाई दबाब दिन सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक भट्टले बताए । उनले पार्टीभित्र इमानदार नेता कार्यकर्ताहरूलाई पन्छ्याउन खोजिएकाले पार्टी एकताबद्ध नहुन्ज्यालसम्म वर्तमान जिल्ला कार्यसमितिले अघि सारेका हरेक कार्यक्रमहरु बहिष्कार गरिने जानकारी दिए । 

नेपाली कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान एकपक्षीय रूपमा सञ्चालन गर्न थालेको छ । फागुन २९ गते देखि चैत २९ गते एक महिनासम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न कांग्रेस केन्द्रीय समितिको निर्देशन छ ।

डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तहमा चैत ८ गते एकै समयमा हुने चुनावी सभाका लागी प्रतिनिधिहरू तोकिएका छन् । दुई वटा नगरपालिकामध्ये परशुबम नगरपालिकामा सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दराज बोहरा र अमरगढी नगरपालिकाका लागी वर्तमान जिल्ला सभापति एवं परशुराम नगरप्रमुख साउँद प्रतिनिधि तोकिएका छन् ।

यस्तै भागेश्वर गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति लक्ष्मीप्रसाद अवस्थी, अजयमेरू गाउँपालिकामा जिल्ला कार्य समिति सचिव हेमराज चटौत, नवदुर्गा गाउँपालिकामा सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति डिल्लीराज जोशी र आलिताल गाउँपालिकामा पूर्व सभापति रघुवर भट्ट प्रतिनिधि तोकिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । 

स्थानीय चुनाव अभियान सफल पार्न जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेशसभा क्षेत्रीय समितिबाट डडेल्धुराका ५२ वटै वडाहरूमा प्रतिनिधिहरू खटाइएको छ भने चैत ५ गते वडाहरूको कार्यक्रम सञ्चालन गर्न ५२ जना प्रतिनिधिहरू खटाइएको छ । 

यसरी प्रतिनिधि खटाउँदा एक पक्षीय रूपमा खटाइएको भन्दै नेपाली कांग्रेस डडेल्धुराभित्र तीव्र असन्तुष्टि बढेको नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ