arrow

कांग्रेस धनुषाको सभापतिमा निधी निकटका पजियार निर्वाचित

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन २८ शनिबार
yogendra-pajiyar-dhanusha-congress-president.jpg

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई पराजित गर्दै विमलेन्द्र निधी समूहका पजियार सभापतिमा निर्वाचित भएका हुन् । उनलाई डा. शेखर कोइराला समूहको समर्थन रहेको थियो ।

शुक्रबार अबेर राति आएको मतपरिणामअनुसार पजियारले यादवलाई  ६ सय ८९ मतले पराजित गरेका हुन् । कूल खसेको २ हजार ८ सय १४ मतमध्ये पजियारले १ हजार ७ सय ३५ र यादवले १ हजार ४६ मत प्राप्त गरे । 

३३ मत बदर भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । ३ हजार १ सय ७३ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८ सय १४ मत खसेको थियो।

पजियार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा तीनमध्ये सभापतिका कुनै पनि प्रत्यासीले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा भएको हो । 

पहिलो चरणबाट डा. कोइराला पक्षका दिनेश प्रसैला तेस्रो भएपछि दोस्रो चरण प्रवेशबाट बाहिरिएका थिए । उनको पक्षले पजियारलाई समर्थन गरेसँगै पजियार विजयी भएका हुन् । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो।

पहिलो चरणको निर्वाचनमा पजियारले सर्वाधिक मत ल्याउँदा यादव दोस्रो स्थानमा थिए । 

दोस्रो चरणको निर्वाचनमा पजियारले पूर्वमन्त्री रामकृष्ण यादव र कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवको साथ पाए। उता देउवा समूहका उम्मेदवार यादवलाई सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको साथ दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ