arrow

धनुषा कांग्रेस नेतृत्वको लागि मतदान सकियो, राति गणना

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
275327702_1106420303253708_7670886316328669373_n.jpg

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा २ हजार ८ सय १४ मत खसेको छ । ३ सय ५९ मत कम खसेको  निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।

चुनावी प्रतिस्पर्धाको पहिलो चरणबाट दिनेश प्रसैला बाहिरिएसँगै योगेन्द्र पजियार र सन्तोष यादवबीच प्रतिस्पर्धा भइरहेको  छ । दोस्रो चरणमा प्रसैलाको समर्थन पजियारलाई भएसँगै पजियारको पल्ला भारी भएको छ । पजियार विमलेन्द्र निधी पक्षका हुन् । 

यादव संस्थापन पक्षका र प्रसैला डा. शेखर कोइराला पक्षका हुन् । दोस्रो चरणमा डा. कोइराला पक्षले निधी पक्षलाई सघाएको हो । 

धनुषा क्षेत्र नम्बर १ मा ८ सय १ मतदाता मध्ये ६ सय ७१, क्षेत्र नम्बर २ मा ८ सय ३० मध्ये ६ सय ९६, क्षेत्र नम्बर ३ मा कुल मतदाता ७ सय १० मध्ये ६ सय ३४ र क्षेत्र नम्बर ४ मा कुल मतदाता ७ सय ९ मध्ये ५ सय ७८ र अपांग समूहबाट २ सय ३५ मत खसेको छ । 

कुल ३ हजार १ सय ७३ डेलिगेट्स मतदाता रहेकोमा ३५९ मत कम खसेको छ। शुक्रबार सम्पन्न निर्वाचनको मतगणना आजै राति ९ बजेदेखि शुरु गर्ने तयारी छ । आजै रातिसम्म मतपरिणाम आउने ज्ञवालीले बताए ।

यसअघि सोमबार भएको पहिलो चरणको निर्वाचनमा २ हजार ९सय १२ मत खसेको थियो । पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन दोस्रो चरणमा गएको थियो । पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २ सय ४८ मत ल्याउँदै अग्रस्थानमा थिए । 

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १ सय ७३ मतदाता रहेकोमा २ हजार ९ सय १८ जनाले मत खसालेका थिए । 

उक्त मतमध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका थिए भने सभापतिका अर्का प्रतिस्पर्धी सन्तोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए । १५१ वटा मत भने बदर भएको थियो ।

धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा भएको हो । 



नयाँ