arrow

शेखर समूहले निधी समूहलाई सघाउने, धनुषा कांग्रेसको नेतृत्व पजियारतिर 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन २५ बुधबार
275131505_688503189166918_4689796790459143493_n.jpg

जनकपुर । धनुषा नेपाली कांग्रेसको नेतृत्व योगेन्द्र पजियारको पोल्टामा जाने भएको छ । नेतृत्वका लागि त्रिपक्षीय भिडन्त भएकामा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा बिहीबार मतदान हुँदै गर्दा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधी समूहका उम्मेदवार प्रजियारलाई समर्थन गर्ने निर्णय गरेसँगै धनुषा पजियारको पोल्टामा जाने निश्चित भएको हो । 

जनकपुरधामको मिल्स एरियास्थित निधी निवासमा पत्रकार सम्मेलन आयोजना गरी कोइराला समूहले पजियारलाई समर्थन गर्ने निर्णय सुनाएको हो । निधी निवासमा नेता निधीसहित सभापतिमा तेस्रो स्थानमा आएका स्वयम् दिनेश यादव प्रसैलासँगै कोइराला समूहका नेताहरु रामकृष्ण यादव, डा. चन्द्र मोहन यादव र प्रथम स्थानको मत पाएका पजियारकोसमेत उपस्थिति रहेको थियो । 

पहिलो चरणको मतदानमा तीन जना उम्मेदवार रहेकामा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणबाट बिहीबार टुङ्गो लाग्ने भएको हो । जिल्ला अधिवेशनको गत सोमबार सम्पन्न चुनावमा मतगणनापछि कसैले पनि बहुमत ल्याउन सकेनन् । 

जसमा योगेन्द्र पजियारले सर्वाधिक १२ सय ४८ मत ल्याए । दोस्रो स्थानका सन्तोषकुमार यादवले ८८३ तथा तेस्रो स्थानका दिनेशप्रसाद यादव प्रसैलाले ६३० मत ल्याए । 

धनुषामा ३ हजार ५० डेलिकेड मतदाता रहेकामा पहिलो चरणमा २ हजार ९ सय १२ मत खसेको थियो । १५१ मत बदर भएको थियो । अब दोस्रो चरणमा पजियार र सन्तोषकुमार यादवबीच भिडन्त हुनेछ । यादव संस्थापन शेरबहादुर देउवा पक्षका हुन् । 

मतदान बिहीबार बिहान ८ बजेदेखि तिरहुतियागाछीमा हुने निर्वाचन समितिले जानकारी दिएको छ । 



नयाँ