महिला खुला केन्द्रीय सदस्यको अन्तिम परिणाम सार्वजनिक, डिला पहिलो, आरजू तेस्रो
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
744
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले सोमबार राति अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो ।
नौ जना निर्वाचित भएको महिला खुला केन्द्रीय सदस्यतर्फ डा. डिला संग्रौलाले सर्वाधिक मतका साथ निर्वाचित भएकी छिन् । उनले कूल ४६ सय ७९ मतमध्ये २८ सय ८५ मत ल्याएकी छिन् ।
यस्तै, पुष्पा भुषाल दोस्रो भइन् । उनले २७ सय १८ मत ल्याइन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा देउवा तेस्रो भइन् । उनले २५ सय ३६ मत ल्याइन् ।
अम्बिका बस्नेत २३ सय ३९ मतसहित चौथो, इश्वरी न्यौपाने २२ सय ५९ मतसहित पाँचौंं, सरिता प्रसाई २ हजार ९६ मतसहित छैटौं, रमा कोइराला पौडेल १८ सय ५८ मतसहित सातौं, शुशीला ढकाल आचार्य १८ सय ४ मतसहित आठौं तथा रंगमती शाही १७ सय ८९ मतसहित नवौं भइन् ।