दोस्रो चरणबाट आफू विजयी हुने डा. कोइरालाको दाबी: 'भोट हाल्दा गुट-उपगुट बिर्सनुहोला'
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
921
Shares
काठमाडौं । कांग्रेस सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदानबाट आफू विजयी हुने दाबी गरेका छन् ।
नैतिकता गुमाएपछि राजनीति नहुने भन्दै डा.कोइरालाले आफ्नो विवेक प्रयोग गरेर कांग्रेस परिवर्तनको पक्षमा मतदान गर्न प्रतिनिधिहरुसँग आग्रह पनि गरेका छन् ।
‘कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । महाधिवेशन प्रतिनिधि तपाइँहरु आफैं नेता हुनुहुन्छ । अन्तरआत्माले जे भन्छ त्यो भोटमा प्रतिबिम्बित गर्नुहोस’,उलने आकष्मिक पत्रकार सम्मेलन गर्दै भने,‘आजसम्म कांग्रेसभित्र रुपान्तरण र पुनर्जागरणको काम गर्दै आइरहेको छु त्यसैले मिलेर काम गरौं ।’
पहिलो चरणको निर्वाचनबाट दोस्रो धेरै मत ल्याएका कोइरालाले कुनै नेताले कसैलाई समर्थन गर्दैमा महाविधेशन प्रतिनिधिको विवेक किन्न नसक्ने दाबी पनि गरे ।
डा.कोइरालाले गुट उपगुट विर्सेर मतदान गर्न पनि प्रतिनिधिहरुसँग आग्रह गरे । कांग्रेसबाट गुट अन्त्य गर्ने जानकारी दिंदै उनले भने,‘भोट हाल्दा गुट, उपगुट विर्सनुहोस । विवेकले जे भन्छ त्यही गर्नुहोस ।’
पार्टीभित्रको अस्तव्यस्ततालाई व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता खड्किएकाले आफ्नो सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पण गर्न चाहेको पनि बताए । मतदान गर्ने सबै प्रतिनिधिहरुलाई धन्यवाद दिंदै डा.कोइरालाले हारे वा जिते पनि पार्टीको बृहत्तर एकता र रुपान्तरणका लागि काम गर्ने प्रतिबद्धता जनाए ।