बौद्धिक युवा नेता शंकर तिवारीले कांग्रेसको केन्द्रीय सदस्यमा दिए उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बौद्धिक युवा नेता शंकर तिवारीले खुल्लातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
समय सुहाउँदो कांग्रेस बनाउने संकल्पसहित शनिबार डा.शेखर–गगनको प्यानलबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् । केही दिन अघि ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक सार्वजनिक गरेका तिवारी अखिलको किल्ला मानिने काठमाडौंको आरआर क्याम्पसमा नेविसंघको राजनीतिबाट कांग्रेसमा उदाएका हुन् ।
दोस्रो जनआन्दोलनमा नेविसंघबाट अग्रमोर्चामा खटिएका उनी स्ववियू सभापतिमा चुनाव समेत लडेका थिए । आन्दोलनका नाममा टायर बाल्ने र ढुंगामुढा गर्ने भन्दा पनि बैचारिक बहसमा क्याम्पसको राजनीतिलाई केन्द्रीत गर्न रुचाउने उनी नवलपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन ।
गगन थापासँग मिलेर ‘नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज’पुस्तक समेत लेखेका तिवारी मूलधारका विभिन्न संचारमाध्यममा स्तम्भ समेत लेख्ने गर्छन ।
‘सरलतामा दृढता:शुशील कोइराला, ‘गीताज्ञान प्रवेशिका’ अनुदित कृती, नेपाली भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्रका निर्देशक एवं नेपाली कांग्रेसका संस्थापक डीबी परिहारको संस्मरण समेत लेखेका तिवारी अन्नपूर्ण पोष्ट दैनिक, हिमाल पत्रिका साथै हाल कान्तिपुर दैनिकका स्तम्भकारका रुपमा भूमिका निर्वाह गरिरहेका छन् । पार्टीभित्र बैचारिक वहस गरी सुदृढ र रुपान्तरित कांग्रेस निर्माणमा आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।