arrow

कांग्रेस १४ औं महाधिवेशन

नेताहरुलाई आफ्नो सुरक्षा आफै गर्नुस् भन्दै चुनावी प्रतिस्पर्धाबाट अलग्गिए रामचन्द्र पौडेल

भन्छन् – म चुनावी प्रतिस्पर्धाबाट अलग्गिएको छु राजनीतिबाट हैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
ramchandra-poudel2.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफू उम्मेदवार नहुने बताएका छन् । सभापतिका दावेदार पौडेलले आफ्नो पक्षका नेताहरुबीच साझा उम्मेदवार बनाउन नसकेपछि आफू नै होडबाट बाहिरिएको जनाउँदै दोस्रो पुस्ताका नेताहरुलाई सहमति गर्न जिम्मा दिएका छन् । 

पौडेल निवास बोहराटारमा भेला भएका आफ्नो पक्षका नेताहरुको छलफलका क्रममा जानकारी दिँदै नेता पौडेलले भने, ‘चार जनामध्ये एक जना सभापतिको उम्मेदपार हुनुपर्यो भन्ने प्रयास गरियो तर सफल भइएन । अब यो होडबाट म बाहिरिएँ । म चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको छु ।’

उनले आफू अहिले चुनावी प्रतिस्पर्धाबाट अलग्गिएको भए पनि राजनीतिबाट भने नटाढिएको बताए । उनले आफूसँग साथमा हिँडेका नेताहरुलाई आफ्नो सुरक्षा आफै गर्नुस्समेत भनेका छन् । 

उनले भने, ‘अधिवेशनको मुखमा आएपछि म पनि बढ्छु, म पनि बढ्छु भन्नुभयो । एक जना भइदिनुस् म सहयोग गर्छु पनि भनेँ । शेखर र प्रकाशमान आफू नै बन्ने हो भनेर हिँडेको पाएँ । मैले कि मलाई सहयोग गर्नुस् हैन भने एक जना हुनुस् म सहयोग गर्छु भनें । सम्भव भएन । म प्रतिस्पर्धाबाट अलग भएँ ।’

नेता पौडेलले भने, ‘तपाईहरु आफ्नो सुरक्षा आफै गर्नुस् भनेको छु । म प्रतिस्पर्धाबाट अलग भएँ । तर म राजनीतिबाट अलग भएको छैन । राजनीतिक विकृति हटाउन मेरो यात्रा जारी रहन्छ । नेपाललाई माया गर्ने कम्युनिष्ट हैन । कांग्रेस नै हो । अहिलेलाई म प्रतिस्पर्धामा छैन ।’

उनले भने, ‘उम्मेदवार मात्र भइदिने भएर त अर्थ रहेन । म दलदलमा बस्दिन । मलाई अलग राखेर अगाडि बढ्नुस् तपाईहरु सोच्नुस् भनेर भनेको छु ।’

भावुक हुँदै पौडेलले भने, ‘पार्टीमा दुःख कष्ट सहेका नेता पनि देखेको छु । साथीहरुलाई बचाउन अनेक प्रयत्न पनि गरेको छु । बचाएको पनि छु । तर अब साथीहरु आफ्नो सुरक्षा आफै गर्नुस् ।’ 

छलफल अहिले पनि जारी छ । उक्त छलफलमा मन्त्री दिलेन्द्रप्रसाद बढू, मन्त्री मिनेन्द्र रिजाल, पूर्व स्थास्थ्यमन्त्रीहरु अर्जुननरसिंह केसी र गगनकुमार थापा लगायतका नेताहरु रहेका छन् । 

प्रकाशमान सिंहले आफू जसरी पनि उम्मेदवार बन्ने बताएसँगै सहमति भाँडिएको छ । 

नेता अर्जुननरसिंह केसीले भने आफू अन्तिमसम्म प्रयासरत रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ