काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन भोली शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु हुँदैछ। महाधिवेशन स्थलमा यतिबेला धमाधम मञ्च व्यवस्थापनको काम भइरहेको छ भने पार्टीका झण्डाले उद्घाटन स्थललाई झकिझकाउ बनाउने काम जारी छ।
कांग्रेसले महाधिवेशन उद्घाटनका लागि तीन सय व्यक्ति अट्ने गरी मञ्च बनाउँदै छ। कांग्रेस काठमाडौंका सचिव तथा प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक गोविन्द पुडासैनीले तीन सय अतिथि अटाउने गरी मञ्च बन्दै गरेको जानकारी दिए ।
उनका अनुसार मञ्चमा तीन ‘रो’ हुनेछ। पहिलो ‘रो’ मा ४० जनासम्म कलाकारले एकै पटक प्रस्तुति गर्न सकिने गरी मञ्चको व्यवस्थापन गरिएको छ।
यसैगरी दोस्रो ‘रो’ मा पार्टीका शीर्ष नेता अन्य दलका प्रमुख र विदेशी पाहुना रहनेछन्। यसैगरी तेस्रो ‘रो’ मा पार्टीका केन्द्रीय सदस्य तथा अन्य अतिथिहरुलाई व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ।
यस्तै मञ्चको दायाँबायाँ सुरक्षाकर्मीहरुका लागि स्थान राखिएको छ। यस्तै मञ्चका दुवैतर्फ स्वाथ्यकर्मीहरुसमेत रहने गरी टेण्टको व्यवस्थापन गरिएको छ भने दुवैतर्फ खानेपानीको व्यवस्थापन हुनेछ।
यसैगरी मञ्च अगाडि दुईसय वटा पार्टीका झण्डा फहराउने गरी तयारी गरिएको छ भने मञ्चको पछाडी एलइडी डीजीटल बोर्ड र दायाँबायाँसमेत गरी तीन वटा डीजीटल बोर्ड राखिंदै छ । यस्तै भृकुटीमण्डप बाहिर सडकमासमेत दुई वटा डिजिटल बोर्ड रहने छ।
उपसमिति संयोजक पुडासैनीका अनुसार भृकुटीमण्डपमा एक हजार स्वयम् सेवक मञ्चको आसपासमा खटिने गरी व्यवस्थापन गरिएको छ भने आपतकालिक उद्धारका लागि एम्बुलेन्ससहितका स्वास्थ्यकर्मीहरुसमेत राखिनेछ।
यसैगरी कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार हुनेछन् भने ती स्थान बाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार राखिने छ।
महाधिवेशनको उद्घाटन भने पार्टी सभापति शेरबहादुर देउवाले भोली १ बजे गर्ने कार्यक्रम छ ।