काठमाडौं । बुधबार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भिडियो लिङ्कमार्फत कुराकानी भएको छ।कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनलाई युक्रनेमाथि आक्रमण गरेमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।
रुसले युक्रेनी सीमामा बलियो सैन्य स्थापना गरेपछि अमेरिकाले त्यस विरुद्ध कडा प्रतिक्रिया दिने बताएको हो। युक्रेनमाथि आक्रमण भएमा बलियो आर्थिक र अन्य उपायहरू अपनाउने चेतावनी बाइडेनले पुटिनलाई दिएका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण नगर्ने बताएको छ। पुटिनले कीभ (युक्रेनको राजधानी) लाई उत्तेजित भएको आरोप लगाएका छन्। यस्तै पुटिनले नेटोको विस्तार र रुसी सीमा नजिक आपत्तिजनक हतियारहरूको तैनाथी नगर्ने युक्रेनमाथि ग्यारेन्टीको माग गरेका छन्।
अमेरिकी समय अनुसार मंगलबार १० बजेदेखि दुवै राष्ट्र प्रमुखबीच करिब २ घण्टा कुराकानी सुरु भएको हो।
बाइडेन र पुटिनबीचको कुराकानीपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरूसँग बोल्दै आवश्यक परेको खण्डमा आगामी हप्ताहरूमा विशेष बलियो प्रतिक्रियाहरू दिने तयारी वाशिंगटनले गरेको बताएका छन्।
सन् २०१४ मा रुसले युक्रेनसँगै जोडिएको किम्रिया कब्जा गरेको कुरालाई उद्धृत गर्दै उनले भनेका छन्, सन् २०१४ मा नगरेका कुराहरू गर्नका लागि हामी अहिले तयार छौँ।
रुसले युक्रेनमाथि आक्रमण गरेमा कस्तो प्रतिक्रिया दिने भन्ने विषयमा स्पष्ट नभए पनि आर्थिक प्रतिबन्ध र अन्य विशेष रणनीतिहरू अमेरिकाले अपनाउने बुझिएको छ।