पुराना नेता गुरुङद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
792
Shares
काठमाडौं। नेपाली कांग्रेसका पुराना नेता नवराज गुरुङले आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । मङ्गलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले कांग्रेसको १४औं महाधिवेशनमा (आदिवासी-जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता गुरुङले आदिवासी जनजातिहरू तथा अन्य समावेशीका जातिहरू सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरूलाई नेपाली कांग्रेसको मूलधारमा ल्याई उनीहरूको बृहत्तर हितमा काम गर्नको लागि उम्मेदवारी दिन लागेको बताए ।
उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले भने,‘महामन्त्रीमा लड्नुपर्ने तपाई पुरानो नेता किन सदस्यमा भनेर साथीहरूले नै भन्ने गरेको छन् । पटक-पटक चुनावमा हार व्यहोर्न परेको पीडा मसँग छ ।’
२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निभाएका र ३३ सालमा विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा समेत साथ दिएका गुरुङले आफू पुराना नेता भए पनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफू पछाडि परेको बताए ।
उम्मेदवारी पार्टीका साथीहरूको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन भन्दै आफुले पनि धेरै पटक पार्टीको लागि त्याग गरेको स्मरण गराए ।
गुरुङले मेचीदेखि महाकालीका जनजाति आदिवासीहरूलाई आफूलाई मत दिन आग्रह गर्दै सबैले भोट दिनेमा आफू विश्वस्त रहेको बताए ।
गुरुङ २०४८ सालमा पर्वत क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीको टिकट, २०५९ सालबाट प्रजातान्त्रिकको पर्वतको सभापति र ०६४ बाट ०६७ सम्म एकीकरणपछि कांग्रेसको पर्वत जिल्ला सभापति, ०७० सालमा संविधानसभा सदस्य र ०७४ सालमा प्रदेश सभाको उम्मेदवार भई प्रतिस्पर्धामा होमिएका थिए ।
२०२९ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा सुरु गरेका गुरुङ सङ्घको केन्द्रीय उपाध्यक्षसमेत भएका थिए । गुरुङको नेविसंघमा धेरै ठुलो योगदान रहेको छ ।
दुई तिहाईको कम्युनिस्टको सरकार आज आफ्नै कारणले तुहिएको भन्दै जनताको मागअनुसार नै नेपाली कांग्रेसले नेतृत्व गरेको उनको भनाई छ। शेरबहादुर देउवाले नचाहँदा नचाहँदै पनि सरकारको नेतृत्व गर्नुपरेको पनि उनले सुनाए ।
जनजातिको छोराले अब कांग्रेसको नेतृत्व गर्नुपर्ने पनि उनले धारणा राखे । कांग्रेसले हिजो गुमाएको साख अब फेरी पाउने विश्वास रहेको उनले बताए । नेतृत्व तहमा असल व्यक्ति नपुगेमा दलकै अस्तित्व गुम्ने खतरा रहने भन्दै नेतृत्व छनौट गर्दा सोच-विचार पुर्याउन पर्नेमा उनको जोड थियो । पार्टी सभापति हुने हिम्मत आफूमा रहेको पनि उनले बताए ।
गुरुङले विभिन्न कारणले यसअघि महाधिवेशन रोकिए पनि अब कुनै पनि हालतमा कांग्रेसको १४औं महाधिवेशन नरोकिने विश्वास दिलाए । उनले आफ्नो समुदायभित्र नेपाली कांग्रेसको पक्षमा जागरण ल्याउनु आफ्नो मूल एजेन्डा भएको पनि सुनाए ।