आङगेलु शेर्पाबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
746
Shares
सोलुखुम्बु । नेपाली कांग्रेसका वैचारिक युवा नेता आङगेलु शेर्पाले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बुको तीन कार्यकाल पार्टी सभापति भई कुशलतापूर्वक नेतृत्व गरेका नेता शेर्पाले यस पटकको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
वैचारिक रुपमा रुपान्तरण सहितको कांग्रेस निर्माण गरी जनमैत्री कांग्रेस बनाई आगामी तीन निर्वाचनसम्म कांग्रेसलाई लगातार विजयी गराउने आफ्नो मुख्य एजेण्डा भएको भन्दै शेर्पाले कार्यकर्ताको संरक्षण गरी मनोबल बढाउनु पर्ने आजको आवश्यकता रहेको बताए ।
त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीति शुरु गरेका शेर्पाले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताएका छन् । दश वर्षे माओवादी द्वन्द्वकालमा जोखिम मोलेरै लोक जागरण अभियान संचालन गरेर चर्चा कमाएका थिए ।
नेपाली कांग्रेसको १० औं जिल्ला अधिवेशनबाट ३२ वर्षको उमेरमा जिल्ला सभापति निर्वाचित शेर्पा नेपालकै कान्छो जिल्ला सभापति बनेका थिए ।
तत्कालीन अवस्थामा नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको बाटो अगाँलिरहेका बेला नेताहरु नरहरी आचार्य, आङगेलु शेर्पा लगायतका युवाहरुले गणतन्त्रको पक्षमा वकालत गरेका थिए ।
राष्ट्रिय स्तरका पत्रपत्रिकामा स्तम्भकारको रुपमासमेत काम गरेका शेर्पाले गणतन्त्रको पक्षमा लामो समय वकालत गरेका थिए ।
नेपालमा २०७२ सालको गोरखा भूकम्पको बेला हिमाली जिल्ला सोलुखुम्बु र आसपासका क्षेत्रमा राहत र उद्धारको क्षेत्रमा ठूलो योगदान दिएका शेर्पाले कोरोनाको बेला हरेक स्थानीय तहमा बिउ पुँजी कार्यक्रम संचालन गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका नेता शेर्पाले आफ्नो जिल्ला सोलुखुम्बुमा पौडेल पक्षीय नेता बलबहादुर केसीका उम्मेदवारलाई पराजित गरी संस्थापन पक्षका उम्मेदवारलाई जिल्ला सभापतिमा जिताएका छन् ।