कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रकाश स्नेहीको घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
587
Shares
काठमाडौं । नेपाली कांग्रसेका सांसद प्रकाश स्नेहीले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्नेहीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दलित तर्फको समावेशी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
१३औं महाधिवेशनबाट नै एक व्यक्ति एक पदको अवधारणाबाट पार्टी चल्नु पर्ने बताउँदै आइरहेका उनले यसपटक पनि आफ्नो सो एजेण्डा रहेको बताए । उनले आरक्षणको व्यवस्था पनि एक पटक भन्दा बढी दिन नहुनेतर्क अघि सार्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसले विधानमा नै समावेशी सिद्धान्तका विषयमा गरिएको व्यवस्था पुनर्विचार गर्नु पर्ने उनको तर्क छ ।
यसैगरी उनले कांग्रेसभित्र पैसा भएका र सुकिला मुकिलाहरुले मात्रै अवसर पाउने गरेकोतर्फ इंगित गर्दै पार्टीको निर्वाचन प्रणालीलाई पनि बदल्नु पर्ने आवश्यकता रहेको बताए । त्यसो हुँदा क्षमता भएका जोसुकै व्यक्तिले पनि अवसर पाउने उनले भनेका हुन् ।
कांग्रेसको नेतृत्व गर्न अघि सरेकाहरुले एजेण्डा भने दिन नसकेको बताउँदै स्नेहीले नेतृत्वका लागि अघि सर्नेहरुले कस्तो कांग्रेस बनाउने र किन कांग्रेस बन्ने भन्ने विषयमा जनतालाई स्पष्ट पार्न सक्नु पर्नेमासमेत जोड दिए । उनले कांग्रेसले अब पुरानो दृष्टिकोणलाई परिवर्तन नगरे कांग्रेसमाथि नयाँ पुस्ताले प्रश्न उठाउनसमेत बताए ।
स्नेही यसअघि दलित संघको जिल्ला सदस्य, केन्द्रीय सचिव हुँदै हाल महासचिव छन् । उनी बझाङबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।