ईन्द्र बानियाँले घोषणा गरे कांग्रेसको वाग्मती प्रदेश सभापतिमा उम्मेदवारी, प्रस्तावक र समर्थक को ?
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
554
Shares
काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन ।
उनको उम्मेद्धवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहेका छन् ।
बानियाँले बाग्मती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने,‘हामी १४औं महाधिवेशनमा जुटिरहेका छौं । १६ गते प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि पनि हामीले भोलिका दिनमा अझै सशक्त भूमिका खेल्नुपर्नेछ । परिवर्तनको आन्दोलनदेखि संविधान जारी र यसको कार्यान्वयनसम्म आउँदा यो अवधिसम्म कांग्रेसले लोकतान्त्रिक मुल्य र मान्यतामा देशलाई डोर्याएको छ ।’
उनले कांग्रेसले लिएको विचार र नीतिका कारण आज पार्टीमा ठूलो उभार र लहर आएको पनि विश्वास दिलाए । बानियाँले बाग्मती प्रदेशमा कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि विश्वास दिलाए । बाग्मती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए ।
बानियाँका समर्थक काभ्रेका सभापति तीर्थ लामाले नेपालको स्थायी शक्ति नै नेपाली कांग्रेस भएको बताए । उनले भने,‘कांग्रेस नै नेपालको स्थायी शक्ति हो । नेपाली जनताले चाहेको समाज यो पार्टीले बनाउन सक्छ भनेर आज तमाम बुद्धिजिवी, फरक-फरक क्षेत्रका चर्चित व्यक्तित्वहरु यसमा लामबद्ध भएर लागेका छन् । यो पार्टीले मात्रै बेरोजगारी अन्त्य गर्न स्क्छ भन्ने विश्वास छ ।’
उनले बानियाँलाई जुझारु नेताको रुपमा चित्रण गरे । उनले भने,‘आदरणीय ईन्द्र बानियाँ, उहाँले आज बाग्मती प्रदेशको सभापतिको उम्मेद्धवारी घोषणा गनुभएको छ, म उहाँलाई अत्यधिक बहुमतले जिताउनको लागि अपिल गर्दछु । साथै, उहाँको उम्मेद्धवारीको लागि प्रस्ताव पनि गर्छु ।’
त्यस्तै, बानियाँको उम्मेद्धवारीको समर्थक भक्तपुरका सभापति दुर्लभ थापाले पनि बानियाँ योग्य र सक्षम उम्मेद्धवार भएको भन्दै जिताउनको लागि सबैले भूमिका खेल्नुपर्ने बताए । उनले भने,‘आज हामी ऐतिहासिक क्षणमा छौं । कांग्रेसले पहिलोपटक ईतिहासमै संघीय संरचनाअनुसार प्रदेश अधिवेशन सम्पन्न गर्दैछ, भोलि ७ वटै प्रदेशको अधिवेशन सुरु हुँदैछ। बाग्मती प्रदेशको अधिवेशन सुरु हुनुअघि बाग्मती प्रदेशको हाम्रो टिमबाट सभापतिमा बानियाँलाई अघि बढाएका छौं ।’
घोषणा कार्यक्रममा नेताहरु बहादुरसिंह लामा, अर्थराज्यमन्त्री उदयशमशेर राणा , बाग्मती प्रदेशका सांसद कल्पना नेपाली, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, ललितपुर जिल्लाका निवर्तमान सभापति मदन अमात्य र रामेछापका सभापति कान्छाराम तामाङलगायतका नेताहरुको बाक्लो उपस्थिति थियो ।