प्रकाश स्नेहीले गरे कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
603
Shares
काठमाडौं । नेपाली कांग्रेसबाट सांसद बनेका प्रकाश स्नेहीले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
स्नेहीले बुधबार काठमाडौं, बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी १४औं महाधिवेशनमा दलीत तर्फको समावेशी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।१३औं महाधिवेशनबाट नै एक व्यक्ति एक पदको अवधारणाबाट पार्टी चल्नुपर्ने बताउँदै आइरहेका उनले यसपटक पनि आफ्नो सो एजेण्डा रहेको बताए ।
उनले आरक्षणको व्यवस्था पनि एक पटक भन्दा बढी दिन नहुनेतर्क अघि सार्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसले विधानमा नै समावेशी सिद्धान्तका विषयमा गरिएको व्यवस्था पुर्नविचार गर्नु पर्ने उनको तर्क छ ।
यसैगरी उनले कांग्रेस भित्र पैसा भएका र सुकिला मुकिलाहरुले मात्रै अवसर पाउने गरेकोतर्फ इंगित गर्दै पार्टीको निर्वाचन प्रणालीलाई पनि बदल्नु पर्ने आवश्यकता रहेको बताए । त्यसो हुँदा क्षमता भएका जोसुकै व्यक्तिले पनि अवसर पाउने उनले भनेका हुन् ।
कांग्रेसको नेतृत्व गर्न अघि सरेकाहरुले एजेण्डा भने दिन नसकेको बताउँदै स्नेहीले नेतृत्वका लागि अघि सर्नेहरुले कस्तो कांग्रेस बनाउने र किन कांग्रेस बन्ने भन्ने विषयमा जनतालाई स्पष्ट पार्न सक्नुपर्नेमा समेत जोड दिए । उनले कांग्रेसले अब पुरानो दृष्टीकोणलाई परिवर्तन नगरे कांग्रेसमाथि नयाँ पुस्ताले प्रश्न उठाउनसमेत बताए ।
स्नेही यसअघि दलित संघको जिल्ला सदस्य, केन्द्रीय सचिव हुँदै हाल महासचिव छन्। उनी वझाङबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।