arrow

१९ वर्षमै महाधिवेशन प्रतिनिधिमा बाजी मारेकी करिनाको लक्ष्य: राजनीतिमै जीवन समर्पण गर्ने इच्छा छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
karina-puri.jpg

काठमाडौं । राजनीतिप्रति युवाहरुको वितृष्ण देखिएको भन्ने समाचारहरु सार्वजनिक भइरहँदा नेपाली कांग्रेसमा भने युवाहरुको आकर्षण देखिएको छ । १४औं महाधिवेशनको प्रक्रिया देशभर चलिरहंदा नेतृत्व र नेतृत्व चयनको प्रतिनिधिमा युवाहरुको उल्लेख्य सहभागीता देखिएको छ । सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरी एक उदाहरण हुन् । कलिलो उमेरमै महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि मेलम्ची नगरपालिका-९ की करिना यतिबेला ‘हटकेक’ नै बनेकी छन् ।

नेशनल कलेजमा कानुन संकाय र आरआर क्याम्पसमा अध्ययनरत उनी सिन्धुपाल्चोकका क्रियाशील पत्रकार युवराज पुरीको छोरी हुन् । प्रतिनिधिसभा क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट छोरी निर्वाचित भएपछि युवराज पुरीले सामाजिक संजालमा खुशी पनि साटेका छन् ।

उनले हाम्राकुरासँगको कुराकानीमा भने,‘संगठनप्रति छोरीको लगाव स्कुले जीवनदेखिकै हो । लगावसँगै सक्रियतामा पनि थियो उनमा । राजनीतिप्रति चासो र चिन्ता गर्थिन । कलिलो उमेरमै नेपालको सबैभन्दा जेठो पार्टीको नेतृत्व चयन गर्ने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु नै हाम्रो परिवारका लागि गर्वको कुरा हो ।’

‘पार्टीको साख जोगाउन सक्ने, कार्यकर्ताको भावनाको कदर गर्दै  पार्टीलाई विपीको समाजवादको मार्गमा लैजान सक्ने सक्षम नेतृत्व चयन गर्न छोरीको भूमिका महत्वपूर्ण हुनेछ । किनकी कलिलो उमेरमा पाको जिम्मेवारी पाउने करिना देशभरका युवाहरुको प्रतिनिधि पात्र हुन्,’ उनले भने ।

स्कुले जीवनदेखि नै राजनीतिमा लगाव देखाए पनि उनी प्लस टु पढ्न थालेपछि भने अलिक बढी सक्रिय हुन थालेको बताउँछिन । ‘शुरुमा त म नेविसंघको इकाइ सभापति बनेको हुँ । किनकी मलाई राजनीतिप्रति चासो थियो । घरपरिवार पनि राजनीतिक पृष्ठभूमीकै भएकाले धेरै कुरा सिक्ने मौका मिलेको थियो । जसका कारण प्लसटु पढ्न थालेपछि सामाजिक अभियान र राजनीतिमा सक्रियता देखाएको हुँ’ उनले भनिन् ।

करिना कराँते खेलाडी पनि हुन । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उनले सहभागीता जनाइसकेकी छन् । साथै सामाजिक अभियानहरुमा उनको सक्रियता अहिले पनि कायम छ । २०१९ मा इन्डोनेसियामा भएको  ‘एसियन गोजुरियो कराँते च्याम्पियन’मा उनले स्वर्ण जितेकी थिइन । मलेसियामा पुगेर पनि उनले प्रतियोगितामा भाग लिइसकेकी छन् । ‘खेल क्षेत्र मेरो सौख र क्षमता प्रदर्शन गर्ने एक अवसर हो । तर राजनीति र सामाजिक अभियान मेरो जिम्मेवारी जस्तै लाग्छ’ उनले भनिन,‘राजनीति र सामाजिक क्षेत्र एक आपसका पर्यावची भएकाले दुवै क्षेत्रमा चासो र सक्रियता अनौठो लागेन मलाई । त्यसैले नेपालको सीमा मिचिंदा देखि किताब र स्यानेटरी प्याडमा लगाइएको कर विरुद्ध धेरै पटक सडकमा उत्रिएको छु ।’

करिनाले राजनीतिलाई क्षणिकका रुपमा मात्र लिएकी छैनन् । राजनीतिमा सक्रिय रहेर धेरै काम गर्ने इच्छाहरु रहेको उनी सुनाउँछिन् । ‘अग्रजलाई सम्मान गर्दै युवाहरुलाई राजनीतिमा अवसर दिलाउने अभियानमा मेरो साथ र समर्थन रहनेछ । कांग्रेसप्रति युवाहरुमा देखिएको जागरण र जोशलाई नेतृत्वले सम्मान गर्न सक्ने वातावरण निर्माण गर्न सक्ने भने देश विकासमा पनि टेवा पुग्छ,’ उनले भनिन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएकी करिनाले कक्षा १० सम्म स्थानीय जनतामा माविमा र कक्षा १२ सम्म इन्दे्रश्वरी माविमा पढेकी उनी अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने हुनुपर्नेमा दृढ छन् । महिला खुलातर्फबाट ४०९ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित उनी अबको जीवनलाई राजनीतिमै समर्पण गर्ने इच्छा ब्यक्त गरिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ