arrow

रामकुमारी झाँक्रीको रोजाइमा किन परे महेश बस्नेत निकट यी सचिव ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
ramkumari-jhakri-gelal.jpg

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा १० सचिवको सरुवा विषयले प्राथमिकता पायो । त्यसमा पनि शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहको सरुवाको विषयमा झनै समय खर्च भयो ।

जसरी भए पनि शहरी विकास मन्त्रालयबाट रमेश सिंहलाई सरुवा गर्नु पर्ने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको चाहना थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा सिहंको सरुवा गर्न उनले अडान नै लिइन् । तर नेपाली कांग्रेसको सिफारिसबाट मन्त्री भएकाहरु सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, रक्षामन्त्री मिनेन्द्र रिजाल, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू तथा जनता समाजवादी पार्टीबाट मन्त्री भएका संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले सिंहको सरुवा गर्न चाहेका थिएनन् । 

सिंह प्राविधिक समूहका हुन् । उनको लागि शहरी विकास मन्त्रालय उपयुक्त भएको ती मन्त्रीहरुको सल्लाह थियो । तर शहरी विकासमन्त्री झाँक्रीले उर्जा आयोगका सचिव मनिराम गेलाललाई पहिले नै आश्वासन दिइसकेकी थिइन् । त्यसैले उनी आफ्नो अडानबाट टसमस भइनन् । सिंह डेमोक्र्याट भनेर चिनिन्छन् । अन्ततः झाँक्रीको चाहनामा गेलाललाई शहरीमा ल्याइयो । 

भक्तपुर दुवाकोट घर भएका गेलाल एमाले नेता महेश बस्नेतसँग निकट मानिन्छन् । निकट यसकारण मानिन्छन् कि उनका दाजु नवराज गेलाल एमालेबाट भक्तपुर जिल्ला विकास समितिको संयोजक भएका छन् । 

एमाले फुट्दा नवराजले कित्ता फेरेनन् । भरखरै सम्पन्न एमालेको महाधिवेशनमा उनले महाधिवेशन प्रतिनिधिमा चुनाव लडे तर पराजिन भए । पछिल्लो समय झाँक्री र सचिव सिंहवीच सम्बन्ध बिग्रेको थियो । 

सचिवसँग सरसल्लाह नगरी मन्त्री झाँक्रीले एकै पटक शहरी विकास मन्त्रालय मातहतका १८ जना उच्च कर्मचारीको सरुवा गरेपछि मन्त्री र सचिवबीच सम्बन्ध बिग्रेको हो । त्यसपछि झाँक्री जसरी भए पनि सिहंलाई शहरी विकासबाट सरुवा गर्नतिर लागिन् । 

‘शहरी विकासमा आउने बित्तिकै झाँक्रीको पहिलो काम भनेको मन्त्रालयका उच्च कर्मचारीहरुको सरुवा गर्नु हो’–मन्त्रालयका एक कर्मचारी भन्छन् ।  भवन विभाग, अधिकार सम्पन्न एकिकृत बागमती सभ्यता समिति लगायत आकर्षक ठाउँमा उनले उच्च कर्मचारी फेरबदल गरिन् । 

स्रोतका अनुसार शहरी विकासमा गोपाल सिग्देल जान चाहेका थिए । झाँक्री निकट एक सुत्रले उनीसँग पनि सम्पर्क गरेको थियो । बर्दिया घर  भएका सिग्देल डेमोक्रयाट भनेर चिनिन्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी अन्यायमा परेका थिए । ‘तर मन्त्रीको चाहना सिग्देलतिर नभइ गेलालतिर देखियो’ स्रोतले भन्यो ।  

पछिल्लो समय पर्यटनमन्त्री प्रेम आले र पर्यटनसचिव यादव कोइरालाबीच पनि खटपट शुरु भएको थियो । पर्यटनमन्त्री आले जसरी भए पनि सचिव परिवर्तन गर्न चाहन्थे । आलेको रोजाइमा महेश्वर न्यौपाने परे । केपी ओली प्रधानमन्त्री हुँदा न्यौपाने लामो समय गृहमा बसेका थिए । 

सरकार फेरिएपछि गृहमन्त्री बालकृष्ण खाँणले गृह सचिव फेरे । सरकारले न्यौपानेलाई प्रधानमन्त्री कार्यालयमा थन्कायो । प्रधानमन्त्री कार्यालयमा पठाइएका न्यौपानेलाई मन्त्री आलेले आफ्नो मन्त्रालयमा ल्याएका छन् । ओली प्रधानमन्त्री हुँदा न्यौपाने एमालेसँग निकट मानिन्थे । ‘तर अहिले न्यौपाने मन्त्री आलेको रोजाइमा परे–स्रोतले भन्यो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १० जना सचिवहरु सरुवा गरेको छ । बित्त आयोगबाट गोकर्णमुनि दुवाडीलाई निर्वाचन आयोगमा लगिएको छ । केपी ओली नेतृत्वको सरकारमा दवाडी पनि अन्यायमा परेका थिए । 

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई संघीय मामिला मन्त्रालयमा ल्याइएको छ । संघीय मामिला सचिव एकनारायण अर्याललाई श्रम मन्त्रालयमा लगिएको छ । शिक्षा सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ भने पर्यटन सचिव कोइरालालाई शिक्षामा लगिएको छ । 

यसैगरी श्रम तथा रोजगार मन्त्रालयका सचिव सूर्य गौतमलाई पनि प्रधानमन्त्री कार्यालयमा तानिएको छ । यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुबेदीलाई वित्त आयोग पठाइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ