कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भरतकुमार शाहीको घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
968
Shares
कैलाली । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य भरतकुमार शाहीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृहजिल्ला कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै शाहीले ‘सेवामूलक राजनीति मेरो प्रतिवद्धता’ भन्ने नाराका साथ केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
कांग्रेसभित्र मौलाउँदै गएको सैद्धान्तिक विचलनको अन्त्य गरी हरेक कांग्रेसजनले सेवामुखी भएर जनताको बीचमा जानुपर्ने धारणा व्यक्त गर्दै शाहीले आफू केन्द्रीय सदस्य विजयी भए नेपाली कांग्रेसलाई जनताको प्रिय पार्टी बनाउन अहोरात्र खट्ने प्रतिवद्धता गरे ।
२०५० सालमा नेविसंघ स्कुल इकाइ सभापति हुँदै जिल्ला कार्यसमिति सभापति र केन्द्रीय सदस्यसमेत भइसकेका शाही २०६२ सालमा नेविसंघको नेपालगञ्ज महाधिवेशनमा केन्द्रीय उपाध्यक्षको प्रत्यासी थिए ।
माओवादीबाट एक दाजु, दुई भतिजा र ससुरा गरी चार जना आफन्त गुमाएका शाहीको पनि पटक पटक हत्या प्रयास भएको थियो । तर उनी बाँच्न सफल भए । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौंमा शाहीलाई हत्या गर्ने उद्देश्यले माओवादीले बम विष्फोट नै गराएको थियो ।
निरंकुशताका विरुद्धको आन्दोलनमा अग्रपंक्तिमा कमाण्ड गर्ने जनआन्दोलनका घाइते शाहीले पटक पटक गरी डेढ वर्ष जेल जीवन बिताएका थिए । कैलाली क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि भरतकुमार शाही पछिल्लो समय समाजसेवामा लाग्ने एक अग्रणी युवा हुन् ।
नेपाल पत्रकार महासंघ कालिकोटका जिल्ला अध्यक्षसँगै धापासी जेसिजका पूर्व अध्यक्षकोसमेत भूमिका निर्वाह गरेका शाही हाल निजी क्रिकेट एकेडेमी संघ नेपालका अध्यक्ष छ्न् ।