arrow

कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी भारी मतका साथ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
lildhoj-gulmi.jpg

गुल्मी । नेपाली कांग्रेस गुल्मीको जिल्ला सभापतिमा खिलध्वज पन्थी अत्याधिक मतसहित निर्वाचित भएका छन् । कांग्रेस गुल्मीको ८औं जिल्ला अधिवेशनबाट पन्थी १ हजार २ सय ७१ मतसहित विजयी भएका हुन् ।

सोमबार साँझ सकिएको जिल्ला कार्य समितिको अधिवेशनबाट निर्वाचित पन्थी हालसम्म भएका निर्वाचनबाट सबैभन्दा बढी मतसहित सभापति पदमा निर्वाचित भएका हुन् ।

कसको मत कति ?

निर्वाचन अधिकृत सतिस कुमार झाका अनुसार कांग्रेसको ८औं जिल्ला अधिवेशनबाट १२ सय ७१ मतसहित सभापतिमा पन्थी निर्वाचित भएका हुन् ।  प्रतिस्पर्धाी बेद बहादुर थापाले ३८४ ल्याए । दुई जना उपसभापतिका लागि ३ जनाको उमेदवारी परेको थियो । जसमा अनन्तराम पौडेलले ११ सय ८७ र शिव बहादुर खत्रीले १ हजार ३३  मत प्राप्त गर्दै  उपसभापतिमा निर्वाचित भए ।

उपसभापतिका अर्का उमेदवार झविन्द्र विश्वकर्माले ५०८ मत प्राप्त गरेका थिए । २ जना  सचिव पदका लागि ५ जनाको उमेदवारी परेको थियो । जसमा जगदीश भट्टराईले ९ सय ९१ र भगतसिंह खड्काले १ हजार २२ मत प्राप्त गर्दै  सचिव पदमा निर्वाचित भए ।

सचिव पदका अर्का उमेदवार थम्मन बहादुर खत्रीले ४१५,  पुर्ण केसीले ३४६ र पृथ्वी बहादुर फौजदारले १८० मत प्राप्त गरेका थिए । २ जना सहसचिव पदमा चार जनाको उमेदवारी परेको थियो  । जसमा छवि पाण्डे  १ हजार १३३ र  धर्मराज पाण्डे ८ सय ५० मत सहित सहसचिवमा
निर्वाचित भएका छन । सहसचिव पदका अर्का उमेदवार निरोज मरासिनीले ३६२ र रेशम कुँवरले ५८१ मत प्राप्त गरे ।

खस आर्य सदस्यमा ७९५ मत सहित कृष्ण प्रसाद पोखरेल,  ७ सय मत सहित धिरेन्द्र केसी, ८६३ मत सहित पदम बहादुर बिष्ट, ७६५ मत सहित लिलाधर आचार्य  र ७८७ मत सहित लोकप्रसाद खरेल निर्वाचित हुनुभएको छ ।काङ्ग्रेस गुल्मीको ८ औं जिल्ला अधिवेशनमा गरिएको निर्वाचनमा १ हजार ६ सय ९५ मत खसेको थियो ।  जसमा ३८ मत बदर भएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला सभापति, उपसभापति, सचिव र सह(सचिव सहित सदस्य टुङ्गो लगाउन गुल्मी जिल्लाका १ हजार ७ सय ६६ जना क्षेत्रीय प्रतिनिधि सदरमुकाम तम्घास आएका थिए । क्षेत्र नम्बर १ बाट  ९ सय ३९ जना र क्षेत्र नम्बर २ बाट ८ सय २७ जना क्षेत्रीय प्रतिनिधिको रुपमा चुनिएका थिए । 

कार्यकर्ताको शिर भुकाउने काम कदापी गर्ने छैनः सभापति पन्थी

सभापतिमा निर्वाचित पन्थी रेसुङ्गा नगरपालिका-६,भुवनपानीका वासिन्दा हुन् । ४६ बर्षीय पन्थी २०४६ साल देखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । साढे ८ बर्षसम्म नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएका पन्थी यस अघिको जिल्ला अधिवेशनमा पनि सचिव पदमा अत्याधिक मतले विजयी भई पार्टी संगठनलाई चुस्त पार्दै र बिशेष गरि युवा पुस्ताको बढि मन जित्दै आएका छन् ।

विकासप्रेमी नेताका रुपमा पनि परिचत पन्थीले सोमबार जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा पदभार ग्रहरण गर्दै काँग्रेस कार्यकर्ताको शिर झुकाउने कुनै पनि कार्य कदापी नगर्ने प्रतिवद्धता गरे । सभापति पन्थीले भने,'अब मेरो जिम्मेवारी एउटा हातमा पार्टीको संगठन हुनेछ, अर्को हातमा विकासका नारा हुनेछन्।’

सभापति पन्थीले विकास र संगठन दुवैलाई सन्तुलन बनाएर लैजाने दाबी गरे । उनले नेपाली कांग्रेस गुल्मीबाट २००७ सालदेखि नेतृत्व गर्ने सबै अग्रजहरुको नाम नै किटर स्मरण गर्दै सम्मान प्रकट गरे ।

विगतदेखि हाल सम्म मृत्यु भएका सबै कांग्रेसजनको पनि नाम लिएर स्मरण गर्दै सभापति पन्थीले भने,‘स्वर्गबाटै उहाँहरुले सपना देख्नुभएको छ, त्यो सपना भनेको के हो ? भने कांग्रेस पार्टी बिलयो बनोस, गतिशिल बनोस्, चुस्त र दुरुस्त बनोस्, पार्टी विपन्न वर्गको सारथी र सहयोगी बनोस्, सबैको बीचमा प्रिय बनोस् ।’ सभापति पन्थीले यस जिल्ला यसै पनि शहीद शम्शेर बहादुर खत्री लगायतका सयौं शहीदको रगतबाट सिंचित भूमि भएको बताउँदै शहिदले देखाएको बाटोलाई आफुले पच्छाउने प्रतिवद्धता व्यक्त गरे ।

सभापति पन्थीले पार्टीको आन्तरिक निर्वाचनले कांग्रेसलाई थप क्रियाशील बनाएको बताए । उनले भने, ‘यो निर्वाचनमा कसैले जितेको छैन् । यो पार्टीको आन्तरिक कुरा हो । कसैले हारेको छैन् । यदि कसैले जितेको छ भने सिङ्गो लोकतन्त्रले जितेको छ । कांग्रेसले जितेको छ ।’ सभापति पन्थीले काम गर्ने जिम्मेवारी मात्र आफुलाई प्राप्त भएको बताए ।

आन्तरिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाएको छः बेद थापा

नेपाली कांग्रेस जिल्ला सभापतिका प्रत्यासी उमेदवार तथा महाधिवेशन प्रतिनिधि वेद थापा मगरले पार्टी भित्रको आन्तरिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाएको बताए ।

सभपतिमा विजयी पन्थीलाई शुभकामना दिंदै कालीगण्डकी गाउँपालिका अध्यक्ष समेत रहेका थापाले भने,‘आन्तरिक प्रतिस्पर्धामा सहभागिता जनायौं । पार्टी भित्रको लोकतन्त्रलाई बलियो बनाएको छ ।’ थापाले आगामी तिनै तहको निर्वाचनमा यो कांग्रेसको सरकार निर्माण हुने गरि यो अधिवेशन सफल सावित हुने बताए । यसका लागि आफु सम्पूर्ण रुपले प्रयासरत रहने उल्लेख गरे ।

गुल्मी काँग्रेस युवा पुस्तामा हस्तान्तरण भयो: पूर्व सभापति सेन

नेपाली काँग्रेसका पूर्व पार्टी सभापति त्रैलोक्यप्रताप सेनले यो अधिवेशनबाट गुल्मी कांग्रेस युवा पुस्तामा हस्तान्तरण भएको बताए । नवविर्वाचित सभापति पन्थीलाई शुभकामना दिंदै उनले भने,‘कांग्रेसका नवनिर्वाचित साथीहरुको अनुहार हेर्ने हो भने यस पटक गुल्मी जिल्लाको कांग्रेस युवा पुस्तामा हस्तान्तरण भयो ।’ युवा पुस्तामा गुल्मी कांग्रेस हस्तान्तरण भएकाले पनि यो सभापति पन्थीको टिम सफल हुने दाबी गरे ।

सेनले भने,‘महिनौं सम्म कार्यकर्ताहरुको माझमा पुगें, ग्रासरुट पुरै खिलध्वजको पक्षमा लागेको पाएँ, कांग्रेस कार्यकर्ताहरु मात्र होईन, आम सर्वसाधरण जनताले समेत खिलध्वजलाई विकास प्रेमी नेताका रुपमा मान्दा रहेछन्, विकास र खिलध्वज पर्यावाची नाम भएको पाए पछि खिलध्वज नै अबको सभापति हुनुपर्छ भन्ने सबैको चाहना रहेछ ।’

पन्थी र थापा दुवै  कांग्रेसका आँखा हुन, जुन आँखा घोंचे पनि दुख्छः  श्रेष्ठ

कांग्रेसका निवर्तमान सभापति भुवन प्रसाद श्रेष्ठले खिलध्वज पन्थी र बेद थापा कांग्रेसका दुई वटा आँखा भएको बताएका छन् । ‘निर्वाचित सभापति पन्थी र सभापतिको प्रत्यासी बेद थापा दुवै कांग्रेसको आँखा हुन् । जुन आँखा घोंचे पनि दुख्छ ।’

श्रेष्ठले भने, ‘व्यक्ति भन्दा विधि ठुलो हो, नेता भन्दा निति ठुलो हो ।’ आफ्नै असल कर्मका कारण यो संभव भएको श्रेष्ठको भनाई छ । उनले भने, ‘खिलध्वज पन्थी एउटा गरिबको छोरा, किसानको छोरा । यो परिवारमा कुनै राजनैतिक विरासत प्राप्त छैन् । र विरासतको ब्याज पनि होइन् ।’ श्रेष्ठले नवनिर्वाचित सभापति पन्थीलाई शुभकामना दिंदै पन्थीको कामले नै आज कार्यकर्ताले सभापतिमा निर्वाचित गराएका बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ