जीतनारायण श्रेष्ठले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
824
Shares
चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेका छन् । आज कांग्रेस नेता कार्यकर्ताको विशाल उपस्थितिबीच श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।
दुई तिहाई महाधिवेशन प्रतिनिधिसँगै झण्डै एक हजार कांग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् । प्रखर वक्ता श्रेष्ठको उम्मेदवारी घोषणामा जिल्लाका तीन क्षेत्रका ७९ जना महाधिवेशन प्रतिनिधिमध्ये झण्डै ६० जनाको उपस्थिति रहेको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्व सभापति कृष्णलाल सापकोटा, तोपमान सिंह गुरुङ, प्रदेश सभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकांक्षीहरु कैलाश कोइराला, उत्तम जोशी, प्रा.डा. सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र विजय भुषालको समेत उपस्थिति रहेको थियो ।
घोषणा सभामा आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले कांग्रेस चितवनले ७५ वर्षको इतिहासमा अहिलेसम्म केन्द्रीय सदस्य पाउन नसकेको बताए । जसले गर्दा कांंग्रेस चितवनलाई केन्द्रले दायाँ, बायाँ गरिरहेको बताए ।
उनले भने, ‘कांग्रेसको ७५ वर्षको इतिहासमा अहिलेसम्म केन्द्रीय सदस्य पाउन सकेको छैन । यो तोड्नका लागि सबै एक भएर निर्वाचनमा होमिनु जरुरी छ ।’
आफ्नो उम्मेदवारी आदिवासी कोटाबाट केन्द्रीय सदस्यमा रहेको भन्दै उनले जिल्लाबाट उम्मेदवार रहेका सबै उम्मेदवारलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे ।
को हुन् श्रेष्ठ ?
नेपाल विद्यार्थी संघ चितवनको अध्यक्ष हुँदै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य र सचिव हुँदै १३ औं महाधिबेशनबाट सभापति पदमा निर्वाचित श्रेष्ठ नेपालभरकै कान्छो जिल्ला सभापतिको रुपमा परिचित छन् ।
विद्यार्थी राजनीतिबाट क्रमशः नेपाली कांग्रेसको राजनीतिमा उदाएका श्रेष्ठले जिल्लामा कांग्रेसको राजनीतिक नेतृत्व गरेसंगै उनको राजनीतिक यात्रा निरन्तर अघि बढेको छ ।
झण्डै साढे पाँच वर्ष जिल्ला सभापतिको जिम्मेवारी संहाल्दै गर्दा कांग्रेसको संगठन विस्तार र संस्थागत निर्णयको परिपाटी बसाउनमा उनको भूमिका महत्वपूर्ण रह्यो ।