arrow

कांग्रेसको १४ औं महाधिवेशन

सभापति र उपसभापतिमध्ये एक पद महिला ल्याउने अभियानमा जुटिन् ईश्वरी न्यौपाने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
ishwari-neupane-congress-leader.jpg

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कांग्रेस नेतृ ईश्वरी न्यौपानेले  छुट्टै अभियान शुरु गरेकी छिन् । सभापति र उपसभापति पदमध्ये एक पदमा महिलालाई ल्याउन कांग्रेसको विधानमा परिमार्जन गर्न माग राख्दै उनले लबिङ शुरु गरेकी छिन् । 

उनले यो अभियान विभिन्न माध्यमबाट शुरु गरेकी हुन् । सामाजिक सञ्जालमासमेत उनले आफ्नो भनाइ राखेकी छिन् । सभापति र उपसभापतिमध्ये एक पद महिलालाई छुट्टाउन कांग्रेसले विधानमै संशोधन गर्नुपर्ने हुन्छ । १४ औं महाधिवेशनमा विधान परिमार्जन गरी यो व्यवस्था लागु गर्न उनको जोडदार माग छ । 

सभामुख र उपसभामुखमध्ये एक, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमध्ये एक तथा गाउँपालिका–नगरपालिकाको प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला राख्ने व्यवस्था गरे झैं कांग्रेसको विधानमा सभापति र उपसभापतिमध्ये एक पदमा महिला राख्ने व्यवस्था लागु गर्न उनको माग छ ।  

‘यो मेरो अभियान हो । सभापति र उपसभापतिमध्ये एक पदमा महिला राख्न सक्यौंं भने त्यस पदमा म आफैंं हुनुपर्छ भन्ने पनि होइन । अरु पनि हुन सक्छन् ।’ उनी भन्छिन् ‘संविधानमा नभए पनि राज्य व्यवस्था समितिबाट छलफल गरी गाउँपालिका–नगरपालिकाका प्रमुख उपप्रमुखमध्ये एक पदमा महिला राख्नुपर्ने व्यवस्था हामीले गर्यौं ।’ 

संविधानको भावना पनि पार्टी सभापति र उपसभापतिमध्ये एक पदमा महिला हुनुपर्छ भन्ने नै रहेको उनको तर्क छ । 

न्यौपानेले भनिन्, ‘यो व्यवस्था लागु गर्ने नेपाली कांग्रेस अगुवा पार्टी हुनुपर्छ । त्यसपछि अरु पार्टीहरुले पनि लागु गर्नेछन् ।’ संविधान बनाउने नेपाली कांग्रेसले संविधानको भावना पालना गर्नुपर्ने उनको सुझाव छ । 

‘नेपाली कांग्रेसको कार्यसमितिमा एक तिहाइ महिला पुगेनन् भने सभापतिले गर्ने मनोनयनलाईसमेत जोडेर एक तिहाइ महिला पुर्याउनु पर्ने व्यवस्था गरिएको छ । तर अब पदाधिकारीमा महिला नआउने अवस्था छ’ न्यौपानेले भनिन्, ‘अब कांग्रेसको विधानमा एक सहमहामन्त्री पदमा महिला राख्ने व्यवस्था गरियो । सहमहामन्त्रीमा एक जना महिला राखेपछि कोषाध्यक्ष पद महिलाले नपाउने सम्भावना रहन्छ । हिजो आरक्षण नहुँदा कोषाध्यक्ष पद महिलाले पाउँथे । अब आरक्षण हुँदा सहमहामन्त्रीभन्दा माथिल्लो पद कोषाध्यक्षमा महिलाले नपाउने अवस्था छ ।’ 

उनको तर्क छ, ‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक फरक लिङ्ग र फरक समुदाय–जातको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी रााष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष तथा सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था राखिएको छ । त्यसैगरी पार्टीहरुले पनि प्रमुख र उपप्रमुखमध्ये एक महिला राख्ने व्यवस्था लागु गर्नुपर्छ । यो भनेको संविधानको भावना हो ।’

न्यौपानेले भनेको माग लागु भएमा उपसभापति पदमा उम्मेदवारी दिने उनको सोच छ । यो व्यवस्था लागु नभए पनि उनी चुनाव लड्ने तयारीमा छिन् ।

संस्थापन टिमबाट चुनाव लड्ने उनको चाहना छ । उनले शुरु गरेको अभियान लागु नभए केन्द्रीय सदस्य पदमा चुनाव लड्ने उनको योजना छ । 

उनी भन्छिन्, ‘मेरो एजेण्डा लागु हुन्छ कि भन्ने आशामा म छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ