arrow

रामचन्द्र पौडेलले सार्वजनिक गरे कांग्रेस रुपान्तरणका १० सुत्र

कांग्रेसमा आन्तरिक लोकतन्त्रको अभाव खड्कदै छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
ramchandra paudel.png

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस भित्र आन्तरिक लोकतन्त्रको अभाव खड्किएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कांग्रेस रुपान्तरणका लागि १० बुँदे सुत्र सार्वजनिक गर्दै पौडेलले नेपालमा लोकतन्त्रको स्थापना र रक्षाको निमित्त कांग्रेसले सधै अग्रमोर्चामा रहेर काम गरेको तर पछिल्लो समय आन्तरिक लोकतन्त्रमा भने अभाव खड्किएको बताए ।

‘कांग्रेस नेपालमा लोकतान्त्रिक पद्दतिको मापदण्ड बनेको छ, कांग्रेसका क्रियाकलाप र गतिविधिहरू अन्य पार्टीहरूको निमित्त उदाहरण र नजिर बन्ने गरेका छन् तर, कांग्रेसको आफ्नै अवस्था भने लोकतन्त्रको आदर्श अनुरुप हुन नसकेको देखिएको छ,’ पौडेलले भनेका छन् ।

उनले निरंकुश जहानियाँ शासनदेखि पञ्चायतहुँदै २०६२/६३ को जनआन्दोलमार्फत राजतन्त्र अन्त्य गर्न नेतृत्व लिएको तथा
नयाँ संविधान जारी गर्न अगुवाइ गरेको पार्टीमा आन्तरिक लोकतन्त्रको अभाव खड्किदै गएको बताएका हुन् ।

पौडेलले नेताको अनुकूलमा विधि-पद्दति चल्ने नभएर नेता सो अनुकुल चल्नु पर्ने बताउँदै पार्टी संचालन या राज्य, व्यक्ति प्रधान नभएर विचार र विधिप्रधान हुनु पर्नेसमेत बताए ।

यी हुन् पौडेलले सार्वजनिक गरेका कांग्रेस रुपान्तरणका १० सुत्र

१. वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं। समावेशी नेपाल साकार पारौं ।

२. काँग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं ।

३. विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ। राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

५. आर्थिक सामाजिक, साँस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘र्याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

६ .निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो। राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन। स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ। मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो, स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद। पहिले सबै बाँचौ अनि प्रतिस्पर्धा गरौं। राज्य जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन। तर, जतासुकै हस्तक्षेप पनि गर्दैन।

७. विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील काँग्रेसको नारा हो। सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी काँग्रेसको निश्चल चरित्र हुनुपर्छ। कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन। सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको काँग्रेस जसले २०१५ सालमा दुईतिहाइ जनसमर्थन प्राप्त गयो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा काँग्रेसलाई उजिल्याउन अथक प्रयास गरौं ।

८. सबै जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरौं। देशलाई समृद्ध पार्न उर्जा क्रान्ति र आफनै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।

९. नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं।

१०. कम्युनिष्टले छरेका भ्रम र झूटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ