arrow

देउवा र पौडेललाई सम्मान दिउँ भन्दै युवराज न्यौपानेले गरे सभापतिमा उम्मेदवारीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
yubraj-neupane-congress-14t.jpg

काठमाडौं । गोरखाबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवराज न्यौपानेले कांग्रेस १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा आज बिहान पत्रकार भेटघाटको आयोजना गरी न्यौपानेले कांग्रेसको नेतृत्व परिवर्तनका लागि सभापति पदमा आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
 
‘काग्रेसले देशमा भएका हरेक क्रान्ति र परिवर्तनको नेतृत्व गर्यो, तर आफैंभित्र क्रान्ति गर्न सकेन, अब नेतृत्व परिवर्तनको क्रान्ति स्वरुप केन्द्रीय सभापतिमा उठ्ने निणर्यमा पुगेको छु,’ न्यौपानेले भने । उनले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले चुनौती दिएको नभएर उनीहरु टेस्टेड भैसकेकाले पद होइन सम्मान दिनुपर्ने लक्ष्यसहित नेतृत्व परिवर्तनका लागि मात्रै आफूले उम्मेदवारी दिने तयारी गरेको बताए । 

उनले कांग्रेस भित्रको क्रान्तिका लागि र कांग्रेसलाई बलियो बनाउनका लागि महाधिवेशनको मिति विधानमा नै तोकिनु पर्ने र सभापतिका उम्मेदवारले महाधिवेशनको एक वर्षअघि नै आफ्ना एजेण्डासहित उम्मेदवारी घोषणा गर्नुपर्नेसमेत बताए । त्यसका लागि कांग्रेसको विधानमा नै सो व्यवस्था उल्लेख गर्नुपर्ने उनको मत छ । 

‘कांग्रेस सभापति भनेको देशको वेटिङ प्राइममिनिस्टर पनि हो, कांग्रेस सभापतिसँग देशका लागि यो यो काम गर्छु भन्ने नीति हुनुपर्छ, ती विषय सभापतिको उम्मेदवार बन्ने नेताले एक वर्षअघि नै घोषणा गर्न सक्नुपर्छ र उम्मेदवार बन्ने इच्छा राख्ने नेताहरुले पाँच मिनेट कार्यकर्तासँग बसेर डिबेट पनि गर्न सक्ने क्षमता राख्नु पर्छ,’ न्यौपानेले अघि थपे । 

सभापतिमा उम्मेदवारी घोषणा गर्दै गर्दा आफूले २१ बुँदे नीति पनि अघि सारेको बताउँदै उनले उम्मेदवारी घोषणमा नै संघर्ष गर्नु परेको सुनाए । तर पनि परिवर्तनको सन्देश दिन आफ्नो उम्मेदवारी रहने उनको दाबी छ । 

न्यौपानेले १४ औं महाधिवेशनमा एजेण्डा उठाउँदा परिणाममा हारजित जे भए पनि १५ औं र १६ औं महाधिवेशन सम्ममा आफूले उठाएका मुद्दा स्थापित हुने बताए । 

कांग्रेसभित्र नीति भन्दा ब्यक्तिलाई सुपर पावर दिने प्रचलन हाबी हुँदा कांग्रेस कमजोर र नेता बलियो भएको भन्दै उनले सो संस्कारले लोकतन्त्रलाई कमजोर बनाएकोसमेत दाबी गरे । 

उनले निर्वाचनका समयमा कसलाई टिकट दिने र को उपर्युक्त पात्र हुने भन्ने फैसला जनता र कृयाशील सदस्यबाट गरिनु पर्नेसमेत बताए । सो संस्कार पार्टी भित्र नहुँदा कांग्रेस बोलीमा मात्रै ‘मास बेस’ बनेको तर व्यवहारमा साँच्चै ‘मास बेस’ हुन नसकेको भन्दै उनले कांग्रेसलाई आफूले ‘मास बेस’ बनाउने लक्ष्य लिएको उनको भनाइ छ । 

गोरखा आरुघाट गाउँपालिका ८ स्थायी ठेगाना भएका ४० वर्षीय न्यौपाने भिमोदय माध्यमिक विद्यालयबाट स्कुले शिक्षा प्राप्त गरेका थिए । उनले काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका छन् भने  २०५८ देखि २०६० सम्म अध्यापन पेशामासमेत आबद्ध भएका थिए । 

न्यौपानेसँग जनसम्पर्क समिति चीनको संस्थापक महामन्त्री (२०७३), नेविसंघ ल क्याम्पसको एकाइ सचिव, २०५७ मा गाउँ कमिटी सचिव भएको अनुभवसमेत छ । कांग्रेसको क्रियाशील सदस्यता २०६२ मा प्राप्त गरेका उनी पेशा सहितको राजनीतिलाई स्थापित गर्नुपर्ने बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ