ललितपुरमा उदय शम्शेरमाथि हातपातको प्रयास, अमात्य समूहमाथि आरोप
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
476
Shares
काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नारावाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नारावाजी भएको हो । आइतबार सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
कांग्रेस नेता एवं पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्यको समूहले हातपातको प्रयास गरेपछि नारावाजी भएको मतदानस्थलबाट पत्रकार केदारनाथ दाहालले जनाएका छन् । मतदानका क्रममा प्रचारसामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले राणामाथि हातपातको प्रयास गरेको दाहालले बताए ।
लगत्तै राणापक्षका कार्यकर्ताहरुले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नारावाजी गरेका थिए। स्थिति तनावग्रस्त भएपछि प्रहरीको उच्च सुरक्षामा जावालाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।
केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् । राणाको समर्थन श्रेष्ठलाई रहेको छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका हुन् ।
पहिलो चरणमा सभापति पदका उम्मेदवार चित्रकारले ५०४, जितेन्द्र कुमार श्रेष्ठले ४७१ र मीनकृष्ण महर्जनले ३३६ मत पाएका थिए । निर्वाचनमा १३ सय २२ मत खसेको थियो । कांग्रेस विधानमा सभापतिका उम्मेदवारले विजयी हुन खसेको मतको पचास प्रतिशत बढि मत ल्याउनुपर्ने व्यवस्था छ ।