काँग्रेस महाधिवेशन : खोटाङ सभापतिमा विष्णुकुमार निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
1.3k
Shares
काठमाडौँ। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत खोटाङ जिल्लाको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन्। उनी काङ्ग्रेसभित्र संस्थापन इतर अर्थात् रामचन्द्र पौडेल समूह निकट मानिन्छन्।
उनले संस्थापन पक्षबाट उम्मेदवार बनेका सर्वधन राईलाई पराजित गरेका हुन् । जिल्ला अधिवेशनमा विष्णुकुमारले ६ सय ६९ र सर्वधनले ६ सय १० मत प्राप्त गरेका छन्।
विष्णुकुमार ११ औँ र १२औँ महाधिवेशनका बखत पनि खोटाङको जिल्ला सभापति बनेका थिए। जिल्ला सभापतिमा उनी १३औँ महाधिवेशनका बेला भने बाहिरै बसेका थिए। हाल उनी तेस्रो पटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
खोटाङ काँग्रेसको प्राप्त परिणाम अनुसार पदाधिकारीमा पनि विष्णुकुमारकै प्यानल विजयी भएको छ। उनको प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेका ईवन राई र तीर्थराज भट्टराई विजयी बनेका छन्।
यसै गरी सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई तथा सहसचिवमा साजन राई र शालिकराम बन्जरा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।