कांग्रेस केन्द्रीय सदस्यमा लड्दै युवा नेतृ निमा गिरी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
1.2k
Shares
फाइल तस्बिर
निमा गरी लगातार तीन पटक नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित युवा नेतृ हुन् । २०६२–६३ को आन्दोलनदेखि राजनीतिमा होमिएकी गिरी त्रिविवि नेविसंघको उपाध्यक्ष पनि हुन् । हाल उनी नेपाल महिला संघ प्यूठानकी सचिव छिन् । उनले ‘नेपाली कांग्रेस र महिला आन्दोलन’ तथा ‘स्थानीय तह र नेपाली कांग्रेस’ विषयक दुई वटा किताव पनि लेखेकी छिन् । प्यूठानमा उनले गरिब तथा असहायको लागि निःशुल्क कानुनी परामर्श तथा मुद्दा लड्ने गरेकी छिन् । गिरीले कांग्रेसको १४ औं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएकी छिन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी– ० तपाई लगातार तीन पटक महाधिवेशन प्रतिनिधि हुनु भएको छ । अघिल्ला दुई वटा महाधिवेशनभन्दा यो महाधिवेशन केही फरक हुने आशा राख्नु भएको छ ?
० तीन वटा महाधिवेशनमध्ये पहिलो महाधिवेशन मेरो पहिलो प्रवेश थियो । त्यति अनुभव पनि थिएन । त्यतिखेर मैले सुशील कोइरालालाई भोट दिएकी थिएँ । उहाँ सभापति हुनुभयो । त्यतिबेला अरुले जे भन्छन् त्यही हो भन्ने अवस्थामा थिएँ । दोस्रो पटकमा पार्टीमा युवाहरुको प्रतिनिधित्व हुनुपर्छ भनेर देशभर एउटा अभियान सुरु गर्यौं । हामीले गरेको यस अभियान अन्तर्गत गगन थापा महामन्त्रीमा उठ्नु भयो । अहिले तेश्रो पटक हामी आफैं पनि परिपक्व भएका छौं । राष्ट्रिय राजनीति पनि बुझ्यौं । मैले नेविसंघको केन्द्रीय कोषाध्यक्ष भएर चुनाव लडेकी पनि हुँ । राष्ट्रिय राजनीतिमा सहभागी भएँ । कांग्रेस विचारविहीन भएको छ । कांग्रेसभित्र युवाको प्रतिनिधित्व छैन भन्दै गर्दा अहिले कांग्रेसमा ठूलो संख्यामा युवाको प्रतिनिधित्व भएको छ । अहिले कांग्रेसमा नयाँ विधान पनि आएको छ । यतिखेर केन्द्रीय सदस्यको लागि म योग्य छु भन्ने मलाई लागेको छ ।
० भनेपछि यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुन्छ, होइन ?
० हो, यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने सोच बनाएकी छु ।
० उम्मेदवारीको घोषणा गरिसक्नु भयो ?
० अब घोषणा गर्दैछु ।
० कुन टिममा रहनुहुन्छ ?
० म व्यक्तिगत रुपमा जोडिएको टिम भनेको गगन थापाको टिम हो । उहाँ जहाँ हुनुहुन्छ त्यो टिममा म हुन्छु ।
० गगन थापाको टिममा पर्नुहुन्छ त ?
० त्यो टिममा पर्छु भन्ने मलाई लागेको छ ।
० गगन थापाले तपाईलाई टिममा राख्छु भन्ने आश्वासन दिनु भएको छ ?
० आश्वासन भन्दा पनि मैले गरेको कामले उहाँले मलाई ‘तिमीले उम्मेदवारी देउ’ भन्नु हुनेछ । यसमा म विश्वस्त छु । यसपटक मैले गरेको कामको मूल्यांकंन हुनेछ ।
० जित्छु भन्नेमा विश्वस्त हुनुहुन्छ ?
० जित्छु भन्नेमा विश्वस्त पनि छु । यसअघि मैले नेविसंघको महिला अध्यक्ष हुनुपर्छ भनेर क्याम्पियन गरेकी छु । मैले ६५–६६ जिल्ला घुमेकी छु । २–२ पटक महासमितिमा हुँदा करिब ६०–७० प्रतिशत महाधिवेशन प्रतिनिधि दोहोरिनु भएको छ । त्यहाँ मेरो नेटवर्क छ । मैले गरेको कामले म जित्छु भन्ने मलाई लागेको छ ।
० तपाई खुलाबाट लड्नु हुन्छ कि महिला कोटाबाट ?
० महिला कोटाबाट लड्छु । महिला कोटामा पनि खुला महिला र खस आर्य महिला भनी छुट्टयाइएको छ । सम्भवतः खुला या खस आर्य महिला कोटाबाट चुनाव लड्ने छु ।
० तपाईंका एजेण्डाहरु के के छन् ?
० पहिलो एजेण्डा कांग्रेसभित्र पुस्तान्तरण मात्र होइन रुपान्तरण पनि हुनु पर्छ भन्ने हो । महिलाहरुको उपस्थितिको सवालमा उपस्थिति मात्र होइन निर्णायक हुनुपर्छ । निर्णय गर्ने ठाउँमा महिला पुग्नु पर्छ भन्ने मेरो एजेण्डा हो । कांग्रेसभित्र महिलाको सहभागिता महत्वपूर्ण हुनुपर्छ भन्ने मेरो कुरा हो ।
० किन टिमबाटै उठ्छु भन्नु भयो ? टिममा नपरेर स्वतन्त्र पनि उठ्न सक्नुहुन्छ होइन र ?
० त्यस्तो होइन हामीले राजनीति बुझेका छौं । स्वतन्त्र उठ्दा भोट त आउँछ तर जित्ने सवालमा टिममै जानुपर्छ । स्वतन्त्र उठ्दा हाम्रा माग एजेण्डा छुट्टयाइन्छन् । टिममा रहँदा हामीले हाम्रा एजेण्डा लागु गर्न सक्छौं । एकता नै बल हो भन्ने छ ।
० यसपटक नेतृत्व पनि परिवर्तन हुन्छ, होइन ?
० यसपटक नेतत्व पनि परिवर्तन हुनुपर्छ ।