कांग्रेस इलाम सभापतिमा आचार्य र खड्काबीच प्रतिस्पर्धा, दुई आकांक्षी पछि हटे
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
971
Shares
इलाम । नेपाली कांग्रेस इलामको नयाँ नेतृत्वका लागि भेषराज आचार्य र डम्बर खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । इलाममा शुक्रबार आज निर्वाचन हुँदैछ ।
नेतृत्वमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिले यतिबेला मतदानको तयारी गरिरहेको छ ।
सभापति पदमा दुई जनाको मात्र मनोनयन दर्ता भएको छ । सभापतिसहित, उपसभापति, सचिव, सहसचिव र कार्यसमिति सदस्यमा समेत निर्वाचन हुँदैछ ।
यसअघि सभापतिमा दाबी गर्दै आइरहेका वर्तमान सभापति हिमालय कर्माचार्य र पूर्वसभापति केशव थापाले मनोनयन दर्ता नगरेपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।
वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशनमा आफ्नो प्यानलको पक्षमा नतिजा निकाल्न सफल आचार्य र दोस्रो स्थानमा नतिजा निकाल्न सफल खड्काबीच प्रतिस्पर्धा हुन लागेको हो ।
सभापति पदका उम्मेद्वार आचार्य संस्थापन इतरका नेता हुन् भने खड्का संस्थापन पक्षका नेता हुन् । अधिवेशनमा अन्य पदाधिकारीमा समेत प्यानलअनुसार नै मनोनयन दर्ता भएको छ ।
दुई उपसभापति पदका लागि चार जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट खगेन्द्र देवान र बिष्णुकुमारी लिम्बू दाहाल चुनावी मैदानमा छन् । खड्काको प्यानलमा केदार थापा र होमप्रसाद दुलाल चुनावी मैदानमा छन् ।
दुई सचिव पदका लागि चार जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट पूर्णप्रसाद गौतम र विष्णु हेमकुमार कार्की चुनावी मैदानमा छन् । खड्काको प्यानलबाट वर्तमान सचिव निरोज खड्की र हुकुमलाल थेवे चुनावी मैदानमा छन् ।
त्यस्तै २ सहसचिव पदका लागि समेत चार जनाबीच नै प्रतिस्पर्धा हुँदैछ । सहसचिव पदमा आचार्य प्यानलबाट चक्र येक्तेन (अभिषेक) र देवेन्द्रकुमार सुवेदी साथै खड्का प्यानलबाट प्रविना राई, डालाकुमारी कार्की चुनावी मैदानमा छन् ।