कांग्रेस महाधिवेशनः प्रतिनिधिमा नवलपरासीबाट संस्थापन कमजोर
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
944
Shares
परासी। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनोटमा संस्थापन पक्ष कमजोर देखिएको छ । इतर गुटले बहुमत प्रतिनिधि जितेको छ । महाधिवेशन प्रतिनिधि केन्द्रीय समिति निर्वाचनका मतदाता हुन् । केन्द्रीय समिति चयनका लागि निर्वाचितसहित कुल ५३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । जसमा २९ जना इतर गुटका छन् भने २४ जना संस्थापन निकट छन् ।
महाधिवेशन प्रतिनिधिमा २ निर्वाचन क्षेत्रको अधिवेशनबाट ५० जना चुनिएका छन् । २ जना निर्वाचित क्षेत्रीय सभापति स्वतः प्रतिनिधि रहने व्यवस्था छ । जसअनुसार २ निर्वाचन क्षेत्रबाट २ जना सभापति रहने छन् भने केन्द्रीय सदस्यसमेत प्रतिनिधि रहने व्यवस्थाले सांसद एवं केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल महाधिवेशन प्रतिनिधि रहेका छन् ।
तीमध्ये संस्थापन इतरको १ क्षेत्रीय सभापतिसहित २९ जना निर्वाचित भएका छन् । संस्थापनको १ क्षेत्रीय सभापति र केन्द्रीय सदस्य कँडेलसहित २४ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
जिल्लामा संस्थापनमा रहेका पूर्वगृहराज्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ । केन्द्रमा संस्थापन इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन् । दुई गुटबीच जिल्लामा पानी बाराबारको स्थिति छ ।
अधिवेशनमा निर्वाचन क्षेत्र नं १ मा इतर गुटले कार्य समितिसहित २५ जना सबै महाधिवेशन प्रतिनिधि जितेको छ । त्यस क्षेत्रमा संस्थापन गुटका क्षेत्रीय सभापतिका उम्मेदवार अशोकजंग राणालाई इतर गुटका मुकुलकुमार आचार्यले २३४ मत अन्तरले हराउँदै कार्यसमितिको प्यानल नै जितेको हो ।
क्षेत्र नं २ मा संस्थापन गुटले कार्यसमिति प्यानल नै जितेको छ । त्यस क्षेत्रमा संस्थापनका सभापतिका उम्मेदवार माधवप्रसाद पाण्डेले इतर गुटका नरेन्द्रकुमार गुप्तालाई ५३ मतअन्तरले हराएका छन् । पराजित गुप्ता रामग्राम नगरपालिकाका मेयर हुन् ।
महाधिवेशन प्रतिनिधि जित्ने संस्थापन इतर गुटमा क्षेत्र नं १ बाट संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवकरण जयसवाल छन् । त्यस्तै लालबहादुर गुरुङ, उमेशचन्द्र यादव, कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद पाण्डे, चन्द्रप्रसाद ढकाल, तारा न्यौपाने, लालबहादुर अधिकारी र विश्वप्रेम पाठक छन् ।
त्यसैगरी भीमा गिरी, जीवनाथ पौडेल, सुकबहादुर गुरुङ, सुशिलादेवि कलवार, बन्धु बरई, नीता हरिजन, कर्णबहादुर विश्वकर्मा, रीता फौजदार, गिरिशबहादुर थारु, बदरुल हक खान र पवनकुमार गुप्ता, धममती सापकोटा, सीता चापागाई, सुमित्रा बाँस्तोला र ज्ञानीमाया लामाले इतर गुटबाट महाधिवेशन प्रतिनिधि जितेका छन् ।
क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि जित्ने संस्थापन गुटमा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, ऋषिराम पौडेल, मोहनप्रसाद शर्मा, राधेश्याम पाठक, यज्ञप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल, लालबहादुर सेन ठकुरी छन् ।
त्यस्तै रम्भा कुँवर, मञ्जु कँडेल, दुर्गाबहादुर गुरुङ, पावित्रीदेवी कोहाँर, राजेश यादव, रामचन्द्र मौर्य, विनोद गौतम हरिजन, मिना चौधरी, महेन्द्र राय थारु, तौखिक अहमद अन्सारी र शिवशंकर राय छन् ।
उक्त गुटबाट प्रतिनिधि जित्नेमा अनिता शर्मा, ज्योती ढकाल, सीता ज्ञवाली र सुनिताकुमारी श्रेष्ठ छन् । त्यस क्षेत्रबाट संस्थापन इतर गुटबाट प्रतिनिधि जित्नेमा गुणनीधि तिवारी, अर्जुनकुमार पोखरेल र भीमबहादुर थापा छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि अहिले नेताहरु जिल्ला अधिवेशनको दौडधुपमा लागेका छन् । निर्वाचन क्षेत्र अधिवेशनको मत परिणामअनुसार संस्थापनइतर गुटको वर्चश्व देखिएको छ ।
संस्थापन गुटभन्दा इतर गुट १८२ मतले अघि देखिएको छ । मत परिणामले संस्थापन इतरका नेताहरु पूरै जिल्ला समिति जित्नेमा ढुक्क हुँदै प्रचार प्रसारमा जुटेका छन् । जिल्ला सभापतिका लागि दुवै गुटले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
संस्थापन गुटबाट शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललाई सभापतिको उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लागेका छ्न् । जिल्लामा कुल १३ सय ३८ जना मतदाता छन् ।