कांग्रेसको नेतृत्व फेरिने अपेक्षा गरेको छु : नन्दप्रसाद न्यौपाने
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
1.2k
Shares
नेपाली कांग्रेसका युवा नेता नन्दप्रसाद न्यौपाने नेपाली कांग्रेस गोरखा जिल्लाको नव निर्वाचित जिल्ला सभापति हुन् । उनी नेविसंघको जिल्ला अध्यक्षसमेत भए । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट कांग्रेसको नीति र नेतृत्वमा आमुल परिवर्तन हुने आशा उनले राखेका छन् । प्रस्तुत छ, उनीसँग महाधिवेशनका सम्बन्धमा गरिएको कुराकानी– ० नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट कस्तो नेतृत्वको अपेक्षा राख्नु भएको छ ?
० नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सक्षम नेतृत्व आउँछ भन्ने आशा मैले राखेको छु । नेपाली कांग्रेसलाई सबल र प्रष्टसँग अघि लैजाने नेतृत्वको अपेक्षा हामीले राखेका छौं । विचार, नीति र कार्यक्रममा प्रष्ट हुनुपर्छ । कांग्रेसको नेतृत्व आम जनताले विश्वास गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि त्यस अनुसार क्षमता राख्न सक्ने हुनुपर्यो । अन्तर्राष्ट्रिय जगतमा पनि कांग्रेसको नीति प्रष्टसँग राख्न सक्ने क्षमता कांग्रेसको नेतृत्वमा हुनुपर्छ ।
० नेतृत्व फेर्नु पर्छ भन्न खोज्नु भएको हो ?
० महाधिवेशन भनेकै नेतृत्व परिवर्तन हो नि ।
० प्रष्टसँग भन्नु पर्दा, अहिलेको नेतृत्वलाई कायम गर्नु पर्छ कि फेर्नुपर्छ ?
० निर्वाचन भनेकै नेतृत्वमा फरक फरक मानिस आउँछन् । सधै एकै किसिमका मान्छे आउँदैनन् । कसलाई ल्याउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिले बुझ्ने कुरा हो । महाविधेशन प्रतिनिधिमा आउने सबै साथीहरु विद्धान हुनुहुन्छ । अहिलेको नेतृत्व फेर्नु पर्छ कि पर्दैन भन्ने उहाँहरुले बुझ्ने कुरा हो । म व्यक्तिगत रुपमा यो हुनुपर्छ यो हुनु पर्दैन भन्नु भन्दा पनि मैले भन्न खोजेको के हो भने नेपाली कांग्रेसको नेतृत्व यसअघि जसरी चलेको थियो त्यसरी नै अब पनि चलाउँदा नेपाली कांग्रेसको संगठन मजबुत हुन्छ भन्ने मलाई लाग्दैन । त्यसैले यो महाधिवेशनबाट प्रष्ट नीति लिन सक्ने, आम मान्छेले हेर्दा यस पार्टीले जनतामा नयाँ नीति दिन सक्छ भन्ने विश्वास गर्न सक्ने किसिमको अनुहार आउनु पर्छ भन्ने मेरो भनाइ हो ।
० भनेपछि अनुहार नयाँ आउनु पर्छ भन्ने तपाईको चाहना हो ?
० व्यक्तिको विषयमा नबोलौ । अहिले कांग्रेसको जुन नेतत्व छ, अब त्यस नेतृत्वले मात्र सम्पादन गरेको कामले नेपाली कांंग्रेस सशक्त किसिमबाट अघि बढ्छ भन्ने मलाई लाग्दैन । नेतृत्व विधानसम्मत किसिमबाट चल्न सक्ने हुनुपर्यो । पार्टी कार्यालयमा कांग्रेसका साथीहरु अनसनमा बस्ने स्थिति आउनु भएन । त्यो किसिमको नेतृत्वले कांग्रेस अब ठीक ठाउँमा ल्याउँदैन ।
० भनेपछि १४औं महाधिवेशनबाट कांग्रेसमा आमुल परिवर्तन हुने अपेक्षा राख्नु भएको छ, होइन ?
० हो, १४औं महाधिवेशनबाट कांग्रेसमा परिवर्तन हुने अपेक्षा हामीले राखेका छौं ।
० तर १४औं महाधिवेशनमा गुटबन्दीको स्थिति बढ्दै गएको छ नि ?
० आन्तरिक पार्टीको निर्वाचनमा गुटबन्दी देखिन्छ नै । यो त्यति अस्वाभाविक होइन । तर हामीले गुटको हिशावबाट मात्र मत खसाल्नु पर्छ भन्ने पनि होइन । नेपाली कांग्रेसबाट छानिएका विद्धान महाधिवेशन प्रतिनिधिहरुले अहिलेको कठिन परिस्थितिमा नेपाली कांग्रेसलाई सक्षम नेतृत्व दिनुपर्छ भन्ने सोच राख्नु भएको छ भन्ने मलाई विश्वास छ । उहाँहरुलाई आफ्नो विवेक प्रयोग गरेर भोट दिन मेरो अनुरोध छ ।