हिमाली जिल्लाबाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि चुनिएका झाको यस्तो छ अधिवेशन अनुभव
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
1.4k
Shares
अशोक झा सोलुखुम्बु जस्तो विकट हिमाली जिल्लाबाट निर्वाचित नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि हुन् । सोलुबाट उनी महाधिवेशन प्रतिनिधिमा लगातार २ पटक विजयी भएका छन् । उनी सोलु नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पदेन सदस्य हुन् । उनी २ पटक तरुण दल सोलु अध्यक्ष भएका छन् । अहिले पनि उनी तरुण दल सोलुको अध्यक्ष हुन् । उनीसँग महाधिवेशनका सन्दर्भमा गरिएको कुराकानी–
० तपाई सोलुखुम्बु जस्तो हिमाली जिल्लामा लगातार २ पटक महाधिवेशन प्रतिनिध चयन हुनु भएको छ । अब तपाईका कार्यक्रमहरु के के छन् ?
० हो, म सोलुबाट लगातार २ पटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको छु । सोलुबाट धेरै युवा साथीहरु महाधिवेशन प्रतिनधि भएर आउनु भएको छ । धेरै युवा साथी क्षेत्रीय प्रतिनिधि, जिल्ला समिति तथा क्षेत्रीय समितिमा निर्वाचित हुनु भएको छ । म तरुण सोलुको नेतृत्वमा आएदेखि सोलुमा संगठन विस्तारको काम तीब्र गतिमा भइरहेको छ । २०५६ सालको निर्वाचन हामीले जित्यौं । २०७४ सालमा पनि हामीले निर्वाचन जितेकै हो । केही मतदान केन्द्रहरु तत्कालीन एमालेका साथीहरुले कब्जा गरे र आन्तरिक विद्रोहको कारणले पनि हामी हार्यौं । नगरपालिकामा हामी निर्वाचित भएका छौं । आगामी निर्वाचनमा सोलुमा हामी जित्छौं ।
० १४ औं महाधिवेशनले कांग्रेसमा परिवर्तन ल्याउने आशा गर्नु भएको छ ?
० जिल्ला जिल्लाबाट नयाँ अनुहारहरु महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर आएका छन् । युवा भनेर उमेरको कुरा मात्र होइन, उनीहरु विचारका पनि संवाहक हुन् । नेपाली कांग्रेसको नीति भनेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । पार्टीमा लगानी गरेका नेताहरुका योगदान कदर गर्दै कांग्रेसको नीति तथा कार्यक्रम तय गरी पार्टीको आगामी भविष्य तय गर्न यस महाधिवेशनले आवश्यक निर्णय गर्नेछ भन्नेमा म विश्वस्त छु । त्यसैले यस महाधिवेशनले कांग्रेसमा परिवर्तन ल्याउने छ ।
० महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ कि गर्दैन ?
० महाधिवेशनमा धेरै नयाँ साथीहरु आउनु भएको छ । अब हिजोको जस्तो अवस्था छैन । पार्टीमा २ वटा महामन्त्री तथा ७–८ वटा सहमहामन्त्रीको व्यवस्था छ । ती पदहरुमा पक्कै युवा अनुहारको वर्चस्व हुने भन्नेमा म विश्वस्त छु ।
० भन्नुको मतलब पदाधिकारीहरुमा नयाँ व्यक्ति आउनु हुन्छ, होइन ?
० सभापतिमा नयाँ अनुहार आउछ भन्नेमा मलाई विश्वास छैन तर अरु पदमा नयाँ अनुहारहरु देखिने छन् भन्नेमा म ढुक्क छु ।
० भनेपछि सभापति परिवर्तन गर्नु हुन्न भन्ने तपाईको तर्क हो ?
० सभापतिमा परिवर्तन हुन्छ र नयाँ व्यक्ति सभापति पदमा निर्वाचिति हुनुहुन्छ भन्नेमा विश्वस्त छैन । नेकपाको दुई तिहाईको सरकारको बेलामा पनि कांग्रेसले राम्रो भूमिका निभायो । धेरैजसो मान्छेहरुले कांग्रेसको महाधिवेशन हुँदैन भन्ने गरेका थिए । महाधिवेशन पनि हुँदैछ । सभापति पदमा व्यक्ति फेरिन्छ कि फेरिन्न, त्यो महाधिवेशनमा थाहा होला । सभापति पदको लागि सम्भावित धेरै व्यक्तिहरुको नाम हामीले सुनेका छौं र देखेका पनि छौं । उहाँ (शेरबहादुर देउवा) डडेलधुरा जस्तो पहाडी जिल्लाबाट आउनु भएको हो । हिजो संघर्ष गरेर उहाँ यो ठाउँमा आउनु भएको छ । नेपाली कांग्रेसको इतिहासमा जुन जुन व्यक्ति पार्टी सभापति हुनुभयो उहाँहरु हाइ, हाइ भएर जानुभयो । किशुनजी, गिरिजाप्रसाद कोइराला हाइ हाइ भएर जानुभयो । त्यसैगरी शेरबहादुर देउवा पनि हाइ हाइ हुनुहुनेछ । कांग्रेसको सभापतिले देशको लागि राम्रो काम गरेको इतिहास छ । त्यसैले उहाँले पनि राम्रो काम गर्नु हुनेछ ।
० १४ औं महाधिवेशनले कांग्रेसको नीतिमा पनि परिर्वतन ल्याउछ भन्ने लाग्छ ?
० निश्चित छ, यस महाधिवेशनले कांग्रेसको नीतिमा पनि परिवर्तन ल्याउने छ । कांग्रेसलाई झन् बलियो बनाउने छ ।