कपिलवस्तुमा कांग्रेसको क्षेत्रीय चुनाव अन्तिम समयमा आएर स्थगित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
766
Shares
काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्रीय चुनाव स्थगित भएको छ । प्रतिनिधिसभाका तीन क्षेत्र रहेको जिल्लामा मंगलबार मतदानको निर्वाचन कार्यतालिका रहेकोमा अन्तिम समयमा आएर चुनाव स्थगित भएको हो ।
पार्टी सभापति सुरेन्द्रराज आचार्यले एक सूचना जारी गरी प्राविधिक कारण जनाउँदै मतदान स्थगित गरेको जानकारी दिए । पार्टीको अर्को सुचना प्रकाशित नहुँदासम्मको लागि मतदान स्थगित गरिएको आचार्यमार्फत् जारी सूचनामा भनिएको छ । मतदानका विषयमा थप छलफल आवश्यक रहेको पार्टीको धारणा छ ।
सोमबार तीन वटै क्षेत्रमा उम्मेद्वारी दर्ता गरेरका उम्मेद्वारहरु चुनावी प्रचारमा जुटेका थिए । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा दुवै पक्षले प्यानल बनाएर चुनावी प्रचारमा छन् ।
क्षेत्र नं. १ मा टेकबहादुर शाही र अब्दुल मन्नान बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ भने क्षेत्र नं.२ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै क्षेत्र नं.३ मा हरि प्रसाद पोख्रेल र ब्रह्मानन्द उपाध्यायबीच सभापतिमा प्रतिस्पर्धा हुने चर्चा छ ।