arrow

कांग्रेस महाधिवेशन आउन एक महिना बाँकी : केन्द्रीय कार्यालयमा ११२ दिनदेखि धर्ना 

जिल्ला जिल्लामा विवाद बल्झँदै, नेतृत्व मौन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
Congress-convention-14-nepa.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधविशन आउँन अब एक महिना मात्र बाँकी छ। कांग्रेसले कांग्रेसले २४-२७ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी मिति तय गरेको छ।

हालसम्म ६४ जिल्लामा कांग्रेसका वडा तहको नेतृत्व चयन भइसकेको छ भने १३ जिल्लामा जिल्ला तहको नेतृत्व पनि चुनिएको अवस्था छ। वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा पनि २७ कार्तिकमा वडा अधिवेशन हुँदैछ।

तर देशभर कांग्रेस महाधिवेशनको मालोलमा होमिंदै गर्दा कांग्रेस केन्द्रीय कार्यालयमा भने ११२ दिन देखि धर्ना जारी छ। धाँधलीपूणर् रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता-कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन्। जिल्ला तहमा रहेका नेता कार्यकर्ता नै महाधिवेशनको मुखमा जिल्ला छाडेर केन्द्रीय कार्यालयमा धर्नामा छन्।

कांग्रेस रौतहट जिल्ला कार्यसमितिका कोषाध्यक्ष राम साहले विधानसम्मत सदस्यता वितरण नभएसम्म अनसन तथा धर्ना नरोकिने बताए।

यसैगरी बाँकेमा सदस्यतामा संस्थापन समूहले किचलो गरेको भन्दै इतर समूहले ताला लगाएको छ।

बाँकेमा क्रियाशील सदस्यता नवीकरणका नाममा फर्जी सदस्यता थपिएको भन्दै असन्तुष्ट पक्षले विहीबार साँझ अधिवेशनको तयारीमा जुटेको निर्वाचन समितिको कार्यालय र पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

संस्थापन पक्षले विधि र प्रक्रिया विपरित नवीकरणका नाममा २३९ जना सदस्य थपेको पाइएपछि संस्थापनइतर पक्ष तालाबन्दी गरी आन्दोलनमा उत्रिएको कांग्रेस नेता पोषण केसीले जानकारी दिए।

‘यहाँ सौहार्दपूणर् रुपमा कार्तिक २७ गतेका लागि वडा अधिवेशनको तयारी भइरहेको थियो, निर्वाचन प्रतिनिधि खटिइसकेको र मतदाता नामावली प्रकाशित भइसकेको थियो, तर संस्थापन पक्षले जबरजस्ती फर्जी सदस्यता पठाएर अधिवेशनलाई विथोल्ने प्रयास गरेपछि तालाबन्दी र घेराबन्दीमा उत्रिनु परेको हो,’ केसीले हाम्राकुरासँग भने।

यसैगरी रसुवामा पनि विवाद समाधान भएको छैन। छानबिन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशील सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद चर्किएको छ।

क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छानबिन समितिले नै सिधै क्रियाशील सदस्यता दिएको रसुवाका कांग्रेस कार्यकर्ताले बताएका छन्।

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि समस्या भएको नौकुण्ड गाउँपालिका-१ रसुवाका वडा सभापति आशिष तामाङले बताए।

यस्तै सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि सदस्यता विवाद चर्किएको छ। त्यहाँ वडा अधिवेशन भइसकेको। तर संस्थापन इतर पक्षले भने एकलौटी रुपमा अधिवेशन गरिएको बताउँदै अधिवेशन खारेजीको माग गर्दै आइरहेको छ। डडेलधुराको विवादका विषयमा १ मंसिरदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने स्थानीय नेता कार्यकर्ताहरुको तयारी छ।

काठमाडौंको दक्षिणकली नगरपालिामा पनि क्रियाशिल सदस्यताको विवाद नमिल्दा नगरपालिाको अधिवेशन नै रोकिएको छ। दक्षिणकाली नगरपालिका वडा नम्बर २ मा सदस्यताको विवाद समाधान नहुँदा त्यहाँ पालिका अधिवेशन नै रोकिएको हो। त्यहाँ स्थानीय संस्थापन पक्षले सदस्यतामा एकलौटी गरेको स्थानीय इतर पक्षको गुनासो छ।

कांग्रेसका स्थानीय तह, जिल्लादेखि केन्द्रसम्म नै क्रियाशिल सदस्यतामा विवाद हुँदा पनि केन्द्रीय नेतृत्व भने मौन देखिएको छ। जिल्लामा भएका विवाद समाधानका विषयमा केन्द्रीय तहबाट कुनै पहल नभएको रौतहट कांग्रेसका कोषाध्यक्ष साहले जानकारी दिए।

‘जिल्लाका साथीहरु कांग्रेस जोगाउन खटिएका छन्, केन्द्रमा नेताहरु आफ्नै कार्यकर्ताको गुनोसो सुन्दैनन्, नेताहरु मौन देखिनु रहस्यमय छ, महाधिवेशन गर्न उहाँहरु नै चाहनु भइरहेको छैन,’शाहले हाम्राकुरासँग भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ