arrow

बागमतीमा 'इन्द्र' र 'राजेन्द्र' आलोपालो मुख्यमन्त्री, माओवादीको आक्रोश - 'के हामी चाहिँ सालको पात?' 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
rajendraindra.jpg

हेटौँडा । बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि प्रदेशमा गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गर्ने निश्चित भएको हो । 

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची बनेको भए पनि बैठक कार्तिक १० गते सम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

अब शाक्यको पद १० गते सम्मको लागि लम्बिएको छ । यता मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित छ । प्रदेशसभा सचिवालयले बिहीबारै मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने जानकारी दिएको भए पनि नेकपा एमालेले बिहीबार को बैठक छलफलमा मात्रै सीमित गर्न सभामुख सानुकुमार श्रेष्ठ समक्ष गरेकाले बिहीबार को बैठकमा उक्त प्रक्रिया अघि नबढेको स्रोतले बताएको छ ।

बिहीबार बसेको बैठकका मुख्यमन्त्री शाक्यले विश्वासको मत प्राप्त गर्नको लागि एमाले नेतृत्वको सरकारले करिब साँढे ३ वर्षको कार्यकालमा गरेको कामको समीक्षा गरिन् । उनले एमालेको नेतृत्वमा जनहितका लागि प्रभावकारी काम भएकोसमेत बताइन् ।

प्रदेशमा ६ सय ४० पक्की सडकको बहुबर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लाहरूमा खानेपानीको पहुँच विस्तार गरिएको, राजधानीमा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य हबको रूपमा विकास गर्ने गरी काम भइरहेको, कृषि क्षेत्रको विकासका लागि कृषकहरूलाई मल, बीउबीजन उपलब्ध गराउने कार्य गरिएको, युवा र खेलकुद कार्यक्रम लक्षित गरी ९१ वटा खेल सञ्चालन गर्ने गरी तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारको लागि पहल भएको, उद्योग कलकारखानाको संरक्षण तथा विस्तारमा पहल भएको भन्दै उनले सरकार सफल रहेको जिकिर गरिन् ।

उता नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाए । नेता बानियाँले वर्तमान सरकारले करिब साढे ३ बर्से कार्यकालमा गरिब जनताको लागि खाना, नाना र छानाको नारा भजाएर व्यक्तिगत स्वार्थका लागि मात्रै काम गरेको बताए । 

यता नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराज जमरकट्टेलले नेकपा एमालेले दम्भ र अहङ्कार मात्रै प्रदर्शन गरेकोले त्यसलाई सर्वोच्च अदालतले गलहत्त्याएर निकालेको टिप्पणी गरे । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता जमरकट्टेलले सत्ताधारी एमालेले आफूहरू मात्रै जनमत प्राप्त दल भएको भन्दै अहङ्कार प्रदर्शन गर्नु गलत भएको बताए । 

उनले भने ‘ एमालेमा केपी ओली प्रवृत्ति हाबी भएको छ । जसरी हुन्छ हेप्ने, चेप्ने, सकेसम्म यो व्यवस्था र संविधान ध्वस्त पार्न खोज्ने, संसद् र संविधानमाथि नै आक्रमण गर्ने अनि संयुक्त गठबन्धनबाट बनेको प्रधानमन्त्रीलाई परमादेशको सरकार भन्ने, यो उहाँको कस्तो राजनीतिक संस्कार हो ?’ ‘एमालेले पाएको चाहिँ जनमत, अनि हामीले पाएको चाहिँ सालको पात हो त ? उहाँले मात्रै जनमत पाएको भए, किन छाडेको त सरकार?, पुर्‍याउनुस् न त बहुमत’ उनले थपे ।

जनमतकै आधारमा सर्वोच्च अदालतबाट परमादेश जारी भएको बताउँदै उनले संयुक्त गठबन्धन संविधान र लोकतन्त्रको रक्षाको लागि निर्माण भएको दावी गरे ।उनले मुख्यमन्त्री शाक्यलाई आफूहरूले विश्वासको मत नदिने बताए । उनले भने, 'हामीले उहाँलाई विश्वासको मत दिनुपर्थ्यो, तर उहाँ प्रतिगमनको पक्षमा उभिनुभएको छ । त्यस कारण दुःखका साथ भन्नुपर्छ उहाँलाई हामीले विश्वासको मत दिन सक्दैनौँ, उनले भने ।

उनले मुख्यमन्त्री शाक्यलाई पनि राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए ।बागमतीमा अब मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बन्ने भएका हुन् । त्यसपछि नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री बन्ने छन्। 

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरू रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसँगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली काँग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ