arrow

बागमती प्रदेशमा कसको मत कति ? : विपक्षी गठबन्धनलाई सत्ता यात्रा सहज

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
bagmati-cm-canided.jpg

काठमाडौँ। बागमती प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चा मिलेर केन्द्रमा बनेको सत्ता गठबन्धनले नै प्रदेशमा पनि गठबन्धन गरेर सत्ता हात पार्ने नीति लिएको छ।

पाँच दलीय गठबन्धनको यो तयारीसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परिसकेको छ। बागमती प्रदेशमा १० कात्तिकमा नेतृत्वकाको हिसाबकिताब हुँदै छ। उनले हिजो बिहीबार नै बागमती प्रदेश सभामा विश्वासको मत मागिसकेकी छन्। तर बागमतीमा हालको विपक्षी गठबन्धन भने सरकार बनाउन तयार देखिएको छ।

शाक्य २ भदौमा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी थिइन्। उनलाई तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले मुख्यमन्त्री पद छाडेपछि एमाले भित्रको आन्तरिक सहमतिबाटै मुख्यमन्त्री बनाइएको थियो।

एमाले विभाजनसँगै बागमती प्रदेशमा रहेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्यलाई अहिले विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो।

मुख्यमन्त्री शाक्यले गत २४ असोजमा बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्।

बागमती प्रदेशसभामा कुल १ सय १० सदस्यमध्ये हाल १०९ जना छन्। एक जना एमालेका प्रदेश सभा सदस्यको भने निधन भएको छ।

हाल बागमतीमा एमालेका ४३, नेपाली काँग्रेसका २२, माओवादी केन्द्रका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन्।

मुख्यमन्त्री शाक्यले बिहीबार नै आफूले गरेका कामको फेहरिस्त सुनाउँदै आफूलाई विश्वासको मत दिन प्रदेश सभा सदस्यहरूलाई आग्रह गरिसकेकी छन्।

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा समे प्रदेशमा ५८ मत पुग्छ। विवेकशील साझाका सांसदेसमेत सघाए उनीहरूको मत ६१ पुग्ने देखिन्छ।

राप्रपा र नेमकिपाले कसलाई सघाउँछन् खुलिसकेको छैन। तर यी दुवै दलले नसघाउँदा पनि विपक्षी गठबन्धनले सरकार बनाउन सक्ने देखिन्छ।

पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव
बागमती प्रदेशमा बिहीबार बसेको प्रदेशसभा बैठकमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ। विपक्षी गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गरेको हो।

प्रदेशसभामा सांसद शालिकराम जमरकट्टेलले विपक्षी गठबन्धनको बैठकले पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बताए। विपक्षी दलको तर्फबाट प्रदेशसभामा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जमरकट्टेलले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिसकेका छन्। 

बानियाँ र पाण्डे आलोपालो मुख्यमन्त्री
बागमती प्रदेशमा गठबन्धनबिच नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसले आधा-आधा समय आलोपालो नेतृत्व लिने सहमति भएको छ। गठबन्धनको बैठकले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा-आधा समय बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति गरेको हो।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसद्बाट विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबिच आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो। गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र त्यसपछिको आधा समय बागमतीका काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ