जयशङ्करको खड्कालाई बधाई, अमेरिकामा दुईबीच भेटवार्ताको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
971
Shares
काठमाडौं। नेपालको परराष्ट्र मन्त्रीमा डा नारायण खड्का नियुक्त भएकोमा भारतका बाह्य मामिला मन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत भारतका विदेश मन्त्रीले खड्कालाई बधाई दिँदै उनीसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।
यसैबीच परराष्ट्र मन्त्री खड्का र भारतका विदेश मन्त्रीबीच न्यु योर्क भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्यु योर्कबाट बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेश मन्त्री हाल न्यू योर्कमा छन् भने परराष्ट्र मन्त्री खड्का सोही सिलसिलामा आज अपराह्न त्यहाँ पुग्दै छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्र मन्त्रीको अनौपचारिक बैठक यस पटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुन लागेको नेपाल र भारतका मन्त्रीको भेटवार्तालाई महत्त्वपूर्ण मानिएको छ ।