arrow

निर्वाचन सुरक्षा

नेपाल-भारत सीमा ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द

निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
nepal-india-border-meeting-82-11-7.jpg

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।

नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, अररिया जिल्ला र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले यस्तो सहमति गरेको हो ।

सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ । उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा रोक लगाइनेछ ।

प्रशासनका अनुसार निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि, अवैध प्रवेश तथा सीमा पारबाट हुन सक्ने चलखेल रोक्नका लागि यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको अनियन्त्रित प्रवेश रोक्न भारतीय सुरक्षा निकायसँग सहयोग मागिएको जानकारी दिए ।

बैठकले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने, तेस्रो मुलुकका नागरिकको अनाधिकृत आवतजावत रोक्ने तथा लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करी नियन्त्रणमा कडाइ गर्ने सहमतिसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ