arrow

कांग्रेस क्रियाशील सदस्यता छानबिन : धर्मशालामा बसेर काम फत्ते गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन नजिकिंदै गर्दा एकातर्फ मुख्य पदका आकाङ्क्षीहरूको दौडधुप र भेटघाट बढेको छ भने अर्कोतर्फ क्रियाशील सदस्यताको विषय पनि पेचिलो बन्दै गइरहेको छ ।  

क्रियाशील सदस्यतामा परेको उजुरीको छानबिनका लागि विगत डेढ सातादेखि छानबिनको जिम्मा पाएका नेताहरू धर्मशालामा बस्दै आइरहेका छन् । 

कोरोना सङ्क्रमणका कारण जारी गरिएको निषेधाज्ञामा पार्टी कार्यालय जान समस्या हुने भएपछि नेताहरू धर्मशालामा बसेर क्रियाशील सदस्यता सम्बन्धी काम गर्दै आइरहेका हुन् । 

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सदस्यता सम्बन्धी छानबिनमा सहजता होस् भनेर धर्मशालामा बसेर काम गर्दै आइरहेको बताए । 

उनले अब निषेधाज्ञा सहज हुँदै गएकाले पार्टी कार्यालयमा नै गएर काम गर्नेतर्फ सोचिरहेको पनि जानकारी दिए । 

हाल सदस्यता छानबिनका लागि खटिएका नेता र कर्मचारीहरू पशुपतिस्थित नेपाल भारतमैत्री धर्मशाला तिलगंगामा बस्दै आइरहेका हुन् । 

कांग्रेसले हालसम्म ८ लाख २० हजारको हाराहारीमा क्रियाशील सदस्यको नामावली देशभरबाट पाएको छ । त्यसमध्ये करिब २ लाख २० हजारको हाराहारीमा सदस्यता छानबिन गर्नु पर्ने अवस्था रहेको समितिका सदस्यहरू बताउँछन् । 

हाल समितिले सदस्यता छानबिनका लागि मापदण्ड नपाउँदा कामलाई तीव्रता दिन सकिरहेको छैन । समितिले शीर्ष तहबाट सहमति गरेर मापदण्ड दिन पार्टीका नेताहरूलाई आग्रह गर्दै आइरहेको छ । शीर्ष तहका नेताहरू भने मापदण्डमा सहमति जुटाउन असमर्थ रहँदै आइरहेका छन् । 

मापदण्डकै विषयमा सहमति जुटाउन भन्दै आज कांग्रेस पदाधिकारीसहित पूर्व पदाधिकारीहरूको बैठक बस्दै छ । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न शीर्ष तहको बैठक बस्ने तयारी भइरहेको   र क्रियाशील सदस्यता मापदण्ड लगायतका महाधिवेशनसँग सम्बन्धी विषयको टुङ्गो लगाइने जानकारी दिए । 

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरूलाई डाकिएको छ । 

कांग्रेसले गत ६ फागुनमा बसेको केन्द्रीय समिति बैठकबाट नेता लेखकको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, र योगेन्द्र चौधरी सदस्य रहने गरी क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाएको थियो । समितिमा पार्टी केन्द्रीय कार्यालयका कानुन सचिव केशव रिजाल सचिव छन् । 

समितिले २० असारसम्म काम पूरा गरेर सभापति देउवालाई क्रियाशील सदस्यता बुझाउने म्यान्डेट पाएको छ । तर सो समय सकिन अब दुई दिन मात्र बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ