arrow

पौडेल र सिटौलालाई दायाँबायाँ राखेर सुजाताले के भनिन ?

पौडेल-सिटौलासँग एक घण्टा र सिटौलासँग एक्लै एक घण्टा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
situla-sujata-ramchandar.jpg

काठमाडौं । नेपाली कांग्रेसका पुरानो संस्थापन मानिएका रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबीच पार्टीको १४औं महाधिवेशनबारे छलफल भएको छ ।

नेतृ कोइरालाको निवास मण्डिखाटारमा आज दिउसो भएको छलफलमा पार्टीको महाधिवेशन र नेताहरुले विगतमा खेलेको भूमिकाका विषयमा छलफल भएको बताइएको छ । 

नेतृ कोइरालाले पिता गिरिजाप्रसाद कोइरालाका सहयात्रीका रुपमा काम गरेका नेता पौडेल र सिटौलालाई बोलाएर खाजासहितको छलफल गरेकी हुन् । 

‘रामचन्द्र जी र सिटौलाजी दुबै जना पार्टीमा धेरै मेहनत गर्ने नेताहरु हो, उहाँहरुलाई बोलाएर महाधिवेशनमा मिलेरै अघि बढ्नु पर्छ भन्ने विषयमा कुराकानी गरें ।’ नेतृ कोइरालाले भेटवार्ताबारे हाम्राकुरासँग भनिन् । 

उनले सिटौलाले शान्ति प्रक्रियाका लागि गरेको प्रयासले कांग्रेसलाई सफल बनाएको भन्दै सिटौलालाईसहित समेटेर आफूले नयाँ समीकरण मिलाउन खाजेको बताइन् । 

‘सिटौला जी पनि क्याण्डेट हो, रामचन्द्र जी पनि हो, म पनि मैदानमा छु, रामचन्द्र जी र सिटौला जी मिल्नु भयो भने सन्देश राम्रो जान्छ, उहाँहरु मिल्नु पर्छ,’ नेतृ कोइरालादे भनिन् । 

नेतृ कोइरालाले पौडेल–सिटौला र आफूसहित एक घण्टा त्रिपक्षीय वार्ता गरेकी थिइन् भने पौडेल बाहिरिएपछिसमेत सिटौलासँग नेतृ कोइरालाको एक घण्टा महाधिवेशन केन्द्रित छलफल भएको मण्डिखाटार स्रोतले जनाएको छ । 

नेतृ कोइरालाले यसअघिसमेत कोइराला परिवार भित्रकै दुई नेता डा। शशांक कोइराला र डा शेखर कोइरालालाई निवासमै बोलाएर लन्च सहितको मिटिङ गरेकी थिइन् । 

उनले सो मिटिङ गरेपछि बाहिरिएको तस्वीरले कोइराला परिवारबाट आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि एक जना उम्मेदवार बन्न सक्ने सन्देश दिएको थियो । हाल पनि उनले सो प्रयास जारी राखेकी छन् । 

कांग्रेसको १४ औं महाधिवेशन आगामी १६ देखि १९ भाद्रसम्म् काठमाडौंमा हुने तय भइसकेको छ । महाधिवेशन तय भएसँगै नेताहरु बीचको भेटघाट र छलफलले तिव्रता पाउँदै आइरहेको छ । 

आगामी महमाधिवेशनमा पार्टीको नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले पनि इच्छा राख्दै भेटघाट तिव्र बनाइरहेका छन् । यस्तै पौडेल समूहबाटैसमेत आठ जना नेताहरुको आकांक्षा देखिदै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ