arrow

कांग्रेस महाधिवेशनबारे छलफल : नेतृत्वका लागि पौडेल समूहबाटै आठ आकांक्षी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
poudel-team.jpg

काठमाडौं । नेपाली कांग्रेस भित्र महाधिवेशनको मिति नजिकिंदै जाँदा पार्टी नेतृत्वका लागि आकांक्षीहरु पनि बढ्न थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधि महाधिवेशनको तयारीमा जुट्दै गर्दा कांग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पनि नेताहरु खुलेका हुन् ।

शुक्रबार काठमाडौंको वसुन्धारास्थित दियालो फुडल्याण्डमा भएको पौडेल समूहको बैठकमा आठ नेताले महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफूहरुले तयारी गरिरहेको सुनाए । 

सो समूहबाट वरिष्ठ नेता पौडेलसहित, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, नेतृ सुजाता कोइराला र कल्याण गुरुङले पार्टीको नेतृत्वका लागि आफूहरु तयारीमा अघि बढेको जनाएका हुन् ।

बैठकमा धारणा राख्दै वरिष्ठ नेता पौडेलले आफू महाधिवेशनमा स्वभाविक उम्मेदवार भएको बताए ।  ‘म स्वभाविक उम्मेदवार हो, साथीहरुले पनि चाहना राख्नु भएको छ, मिलेरै जानु पर्छ, घनिभुत छलफल गरौं,’ बैठकमा नेता पौडेलले धारणा राख्दै भनेका थिए ।

महामन्त्री डा शशांक कोइरालाले सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए । नेता अर्जुननरसिंह केसीले पनि महाधिवेशनमा आफू पार्टी नेतृत्वका लागि अघि बढ्ने धारणा राखे । उनले सहमतिमा नेतृत्व चुन्ने अवस्था आएमा भने आफू बाधक नबन्ने बताए ।

‘सभापतिको लागि म पनि उम्मेदवार हुँ, सहमतीमा नेतृत्व छान्ने अवस्था आएमा भने मान्न तयार छु, तर धेरै जना मैदानमा उत्रिने अवस्था आए म पनि भिड्छु,’ बैठकमा धारणा राख्दै केसीले भने ।

बैठकमा क्रियाशिल सदस्यता छानविनका विषयमासमेत छलफल भएको नेतृ सुजाता कोइरालाले जानकारी दिइन् । उनले आगामी दिनमा पुनः छलफलमा बसेर नेतृत्वबारे निर्णयमा पुग्ने बताइन् ।

‘भखैरै छलफल शुरु भयो, अब निरन्तर छलफलमा बस्छौं, सकेसम्म सहमती गरेरै अघि बढ्छौं,’ नेतृ कोइरालाले बैठकपछि हाम्राकुरासँग भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ