arrow

कर्मकाण्डी मात्र नहोस् काँग्रेसको महाधिवेशन 

logo
रमेश बस्ताकोटी,
प्रकाशित २०७८ असार ११ शुक्रबार
congress-leader.jpg

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका चौधौँ महाधिवेशनको कार्य तालिका पछिल्लो पटक सार्वजनिक भएपछि फेरी एक पटक नेपाली काँग्रेसको महाधिवेशनबारे चर्चा सुरु भएको छ । तथापि महाधिवेशन तोकिएकै समयमा हुने या नहुनेमा अझै पनि शङ्का गर्ने प्रशस्त आधारहरू भने नभएका होइनन् । कोभिड १९ को महामारी चलिरहेको वर्तमान परिवेशमा यसैलाई देखाएर फेरी पनि महाधिवेशन सार्ने चलखेल हुने वा त्यस्तै वाध्यात्मक परिस्थिति आई पर्ने हो अझै यकिन साथ भन्न सकिने अवस्था भने छैन । तर संवैधानिक बाध्यताका कारण तोके बमोजिम नै नेपाली काँग्रेसको महाधिवेशन होला भन्ने अपेक्षा गरौँ ।
 
नेपाली राजनीतिको पुराना मध्येको एक र अहिले क्रियाशील रहेका राजनीतिक दल मध्ये सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काँग्रेसको महाधिवेशनबारे यती बेला काँग्रेस भित्र मात्र होइन नेपाल भित्रैका अन्य राजनीतिक दल र अन्तर्राष्ट्रिय स्तरमा समेत चासोको विषय बनेको छ । यो महाधिवेशनले नेतृत्व मात्र परिवर्तन गर्ने छैन , नीतिका विषयमा समेत गम्भीर छलफल गर्नेछ भन्ने आम बुझाई छ । तर हतारोमा गर्न लागिएको यो महाधिवेशनमा नीति र बिचार माथि घनिभूत छलफल होला भन्ने चाहिँ अझै पत्याउन सक्ने अवस्था छैन । काँग्रेस महाधिवेशन कर्मकाण्डी रूपमा मात्रै सकिने हो की भन्ने आम चिन्ताको विषय पनि छ । यदि त्यसो भयो भने यसले काँग्रेसलाई मात्र होइन मुलुकलाई समेत ठुलो घाटा हुनेछ । यसले काँग्रेस प्रति भरोसा गर्ने नेपाली जनतालाई समेत धोका हुनेछ । 

नेपाली काँग्रेसको आगामी महाधिवेशन नेता चयन गर्ने उत्सवका रूपमा मात्र आयोजना हुन हुँदैन , लोकतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएको काँग्रेसको १४ औँ महाधिवेशनले कस्तो नीति तय गर्ला , यो आम चासोको विषय हुनु सान्दर्भिक पनि हो ।  यो महाधिवेशनमा काँग्रेसले लिने निर्णयले पक्कै पनि नेपाली राजनीति प्रभावित हुनेछ । नेपाली काँग्रेसलाई नेपाली जनताले पटक पटक विश्वास गरेका छन् । देश गम्भीर सङ्कटको अवस्थामा रहेको यस बेलामा काँग्रेसले देशको नेतृत्व लिने गरी नीति तय गर्न आवश्यक छ । 

हालसम्म भएका ७ वटा आमनिर्वाचन मध्ये २०१५ सालको पहिलो आमनिर्वाचनमा दुई तिहाइ, २०४८ सालमा बहुमत, २०५६ मा बहुमत र २०७० सालमा सबैभन्दा ठुलो दल भएको पार्टी २०७४ सालको संसदीय र स्थानीय निर्वाचनमा धेरै सिट अन्तर सहित दोस्रो भएपछि पनि फेरी नेपाली जनताले एक पटक काँग्रेसको साथ खोजेका छन् । देशले एक पटक काँग्रेसको नेतृत्व खोजेको छ । यस्तो बेलामा सम्पन्न हुन गइरहेको नेपाली काँग्रेसको महाधिवेशन नेता प्रधान भन्दा नीति प्रधान हुन आवश्यक छ । हिजोका दिनमा लिएका कतिपय निर्णयका कारण पछिल्लो निर्वाचनमा काँग्रेसलाई जनताले मन पराएनन् । 

१४ औँ महाधिवेशनमा यसको समीक्षा हुन जरुरी छ र सोही बमोजिम नीति तय गर्न आवश्यक छ । उही लाहुरे पाराले हतार हतार महाधिवेशन सकेर नीतिमा बहस हुन सकेन भने लडखडाएको काँग्रेस उठ्न सक्दैन , यसमा नेतृत्वले ध्यान दिन आवश्यक छ । अहिले काँग्रेस उठ्ने भनेकै सही नीति , जनचाहाना बमोजिमको नीति तय गरेर हो । यसको लागि महाधिवेशनमा घनिभूत छलफल हुनै पर्दछ । 

राष्ट्रियता , लोकतन्त्र र समाजवाद काँग्रेसको सिद्धान्त हो । आफ्नो सिद्धान्तबाट बेला बेलामा काँग्रेस च्युत हुने गर्दछ भन्ने आरोप नलाग्ने पनि हैन । त्यस कारण पनि आउने महाधिवेशन मार्फत काँग्रेसले धेरै प्रश्नको समाधान खोज्नु पर्ने बाध्यता छ । नेता चयन गर्नु महाधिवेशनको एउटा पाटो हो तर नीतिमा गहन छलफल गरेर नेपाली जनताको प्रिय पार्टी बन्नु अर्को महत्त्वपूर्ण कार्य हो । नेपाली काँग्रेसका पछिल्ला केही महाधिवेशनहरू पनि नेता प्रधान मात्र भए नीति प्रधान हुन सकेन भनेर काँग्रेसीहरू नै गुनासो गर्छन् । यस्तो बेलामा महाधिवेशन मार्फत काँग्रेसले सही नीति तय गर्नु पर्दछ ।   

कोभिड महामारीले थिलथिलो भएको देशको मुहार फेर्नका लागि काँग्रेसले तय गर्ने नीति कस्तो होला ? यसबारेमा महाधिवेशन मार्फत काँग्रेसले कस्तो सम्बोधन गर्ला यो अहिले आम चासोको विषय हो । देशको अर्थतन्त्र तहसनहस भएको यो बेलामा काँग्रेसले कस्तो आर्थिक नीति तय गर्ला ? यस्ता आम चासोका विषयमा महाधिवेशन मार्फतै काँग्रेसले सम्बोधन गरेर जानु पर्दछ । हुन त अहिले काँग्रेस सत्तामा छैन , तर पनि सत्तारुढ दलप्रतिको चरम वितृष्णका कारण अहिले काँग्रेसले अभिभावकत्व ग्रहण गर्नुपरेको छ । यस्तो अवस्थामा काँग्रेसले लिने हरेक नीतिमा आम नेपाली नागरिकको चासो हुन्छ । 

गरिबिको रेखा मुनी रहेका जनताहरूका दैनिक गुजाराका प्रश्नहरू पनि छन् , यसलाई पनि काँग्रेसले यसै महाधिवेशनमार्फत सम्बोधन गर्न सक्नु पर्दछ । करिब ६० प्रतिशत जनताको जीवन निर्वाहको आधारको रूपमा रहेको कृषि पेशामा आजीवन सङ्घर्ष गर्दा पनि बेलामा बीउ मल नपाउने, सिचाइ सुविधा नपाउने, उत्पादित सामाग्रीको मूल्य नपाएर कहिल्यै सुधार हुन नसकेको कृषकहरूको आर्थिक स्तर सुधार्ने नीति निर्धारण काँग्रेस महाधिवेशनले गर्न सक्नु पर्दछ । आर्थिक उदारीकरणको नीतिलाई समर्थन गरेको नेपाली काँग्रेसले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइरहेको सन्दर्भमा उपभोक्ताको अधिकार कसरी संरक्षण गर्ने हो भन्ने तर्फ पनि ध्यान दिनु पर्दछ । 

अहिले देशको राजनीति एउटा गम्भीर मोडमा छ , यस्तो बेलामा नेपाली काँग्रेसले आफ्नो साख र गरिमालाई जोगाउँदै आफ्नो गौरवपूर्ण इतिहासलाई साक्षी राखेर केही महत्त्वपूर्ण राजनैतिक निर्णयहरू लिन आवश्यक छ , आफूलाई अभिभावक पार्टी हौँ भन्ने तर महाधिवेशन जस्तो महत्त्वपूर्ण समयमा राजनीतिक कार्यदिशा र एजेन्डाहरू माथि छलफल नै नगरी महाधिवेशनलाई कर्मकाण्डी मात्रे बनाउने छुट नेपाली काँग्रेसलाई छैन । महाधिवेशन यदि कार्य तालिका अनुसार तोकिएकै समयमा सम्पन्न हुने हो भने अब जम्मा जम्मी २ महिना मात्र बाँकी छ , यस्तो बेलामा काँग्रेसले आफ्नो राजनीतिक कार्यदिशा, नीति तथा मुद्दाहरूलाई फ्लोरमा ल्याएर बहसमा ल्याउन आवश्यक छ । तर विडम्बना काँग्रेस नेतृत्व कसरी नेतृत्व हत्याउने भन्ने एउटै एजेन्डामा यती बेला केन्द्रित देखिन्छ । व्यक्तिगत रूपमा कुनै नेतालाई आक्षेप लगाउन खोजिएको हैन । तर पनि नेतृत्वले यस्ता महत्त्वपूर्ण मुद्दाहरूलाई ओझेलमा पारेर अघि बढ्दा यसले आम नेपाली जनतामा नैराश्य तथा भने जगाएको छ , यसमा नेतृत्वको ध्यान जाओस् । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा पछि २०७४ सालको निर्वाचन नेपाली काँग्रेसको नेतृत्वमा सम्पन्न भइसकेपछि शक्तिमा आएको सत्तासीन दलले स्थानीय निकाय, प्रदेश सरकार र सङ्घीय सरकारमा प्रचुर बहुमतका साथ सरकार चलाउने अवसर पाउँदा भ्रष्ट्राचार दलदलमा परेर, आन्तरिक राजनीतिक खिचातानीका कारण देशलाई सहज रूपले चलाउन सकेको छैन, फलस्वरूप अहिले दोस्रो पटक संसद विघटन भएर एउटा गम्भीर राजनैतिक सङ्कटको सन्निकट देश पुगेको छ ।  वर्तमान सरकारको अकर्मण्यताको कारणले निराशामा रहेका जनतालाई आशाको स्रोतको रूपमा स्थापित हुनका लागि नेपाली काँग्रेसका लागि यो निकै सुनौलो अवसर हो । त्यसैले पनि काँग्रेसको १४ औँ महाधिवेशन नेतामा मात्र सीमित नहोस् , यसले राजनैतिक कार्यदिशा , राष्ट्रिय मूल मुद्दाहरू मा घनिभूत छलफल गरेर नीति तय गरोस् । होइन भने काँग्रेसको १४ औँ महाधिवेशन फगत एक कर्मकाण्ड मात्र साबित हुनेछ । 

नेपाली काँग्रेस भित्र केही आशा लाग्दा युवा नेताहरू नभएका होइनन् तर उनीहरू पनि कुनै न कुनै रूपमा शेरबहादुर दाइ , रामचन्द्र दाइ , शशाङ्क दाइ , सिटौला दाइकै पछि छन् । १४ औ महाधिवेशनमा काँग्रेसले गर्नुपर्ने बहसका बारेमा राम्रै जानकार भए पनि कतिपय अवस्थामा आफ्नै पद धरापमा पर्ने भएपछि दाइहरूका यी भाइहरू पनि चुप नै बस्छन् । यो विगतले पनि देखाएकै छ । यस कारण यो पटक आशा गरेका यी नेताहरूले काँग्रेसको आगामी राजनैतिक कार्यदिशा, राष्ट्रिय मूल मुद्दाका विषयहरूमा प्रशस्त छलफल गर्ने र सोही बमोजिमको नीति तय गर्नका लागि समय खर्च गरुन् भन्ने आम अपेक्षा छ ।

 शीर्ष नेताहरूलाई एजेन्डाहरू दिएर प्रशस्त बहसका लागि दबाब दिउन् भन्ने आम अपेक्षा छ ।   यदि यसो भएन या गर्न सकिएन भने , नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नेता छान्ने एउटा जात्रा मात्र हुनेछ , साँच्चै यो महाधिवेशन हुनेछैन , फगत एउटा कर्मकाण्ड मात्र हुने छ । त्यस कारण कर्मकाण्डी मात्र नबनोस् नेपाली काँग्रेसको १४ औँ महाधिवेशन , यसका लागि तल्लो तहबाटै दबाब दिन आवश्यक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ