arrow

काँग्रेस नेताहरूको दौडधुप

देउवा निवासमा बैठक, निधि निवासमा लन्च

बिपी, गणेशमान र महेन्द्रनारायण पुत्र होलान् एक ठाउँ ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार ७ सोमबार
koirala-shing-nidhi-congress.jpg

काठमाडौँ। नेपाली काँग्रेस भित्र महाधिवेशनको रन्को सुरु भएसँगै नेताहरूको भेटघाट पनि तीव्र भएको छ। सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा आफू निकट नेताहरूलाई बोलाएर महाधिवेशनका लागि तयारीबारे मुख खोल्दै गर्दा उपसभापति विमलेन्द्र निधिले पनि आफ्नै निवासमा नेताहरूलाई डाकेर ‘लन्च’ दिएका छन्।

काँग्रेसको आगामी १४औँ महाधिवेशनका लागि निधिले पार्टी नेतृत्वका लागि आफू तयार रहेको भन्दै गत शनिवार सभापति देउवालाई भेटेरै सहयोग गर्न आग्रह गरेपछि उनले सक्रियता बढाएका हुन्। निधिले आज आफ्नो वैवाहिक वार्षिकोत्सव पारेर नेताहरूलाई घरमा नै बोलाएर ‘लन्च मिटिङ’ गरेका हुन्।

निधिको निमन्त्रणालाई स्वीकार गर्दै काँग्रेस महामन्त्री डा शशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह मध्य बानेश्वरमा रहेको निधि निवासमा पुगेका हुन्। 

काँग्रेस उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले नेता निधिसहित महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबीच लन्च मिटिङसहित समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी महाधिवेशन सहितका विषयमा छलफल भएको जानकारी दिए।

‘उपसभापति ज्यूको एनिभर्सरीको सन्दर्भ पनि हो, उहाँले पूर्व महामन्त्री र वर्तमान महामन्त्रीज्यूहरूलाई बोलाएर समग्र विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नु भयो, महाधिवेशनको विषयदेखि आगामी निर्वाचनसम्मका विषयमा कुराकानी भए,’ उपसभापति निधिका प्रेस सल्लाहकार दाहालले हाम्रा कुरासँग भने।

तीन नेताहरूबीच कोभिड सङ्क्रमण, सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षति, काँग्रेसको १४औँ महाधिवेशन, आगामी प्रतिनिधि सभा निर्वाचन, विपक्षी दल हरूको गठबन्धनबाट प्रधानमन्त्रीका लागि उम्मेदवार बनाइएका सभापति देउवालाई कसरी प्रधानमन्त्री बनाउने लगायतका विषयमा कुराकानी भएको दाहालले बताएका हुन्।

यसअघि तीन नेताबीच गत ३ र ४ गते सम्पन्न केन्द्रीय समिति बैठक पछिसमेत भेटवार्ता भएको थियो। निधि काँग्रेसका पुराना नेता महेन्द्र नारायण निधिका पुत्र हुन भने महामन्त्री कोइराला बिपी पुत्र हुन्। यस्तै पूर्व महामन्त्री सिंह गणेशमान सिंहका पुत्र हुन्।

छलफलपछि तीन नेताहरूबीच समान धारणा बनाएर अघि बढ्ने विषयमा पुनः छलफलमा बस्ने सहमति पनि बनेको छ। निधिले आगामी महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व छान्ने गरी धारणा बनाउने विषयमा नेताहरूलाई एक ठाउँ राख्न खोजेका हुन्।

यसै गरी आफ्ना धारणा जिल्ला सभापतिहरू तथा केन्द्रीय सदस्यहरूबीच लैजाने विषयमा पनि तीन नेताहरूबीच सहमति भएको छ।

यसअघि २ असारमा नेता निधिले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै धुम्बाराही स्थित निवासमा पुगेर भेटेका थिए भने गत शनिवार नेता बलबहादुर केसी लाईसमेत उनकै निवास पुगेर भेटेका थिए।

निधि आगामी महाधिवेशनमा आफैँ पार्टी नेतृत्वका लागि अघि बढ्ने गरी छलफल र भेटघाटलाई बढाएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ