arrow

प्रवासी युवा समाजद्वारा बागमती गाउँपालिकालाई एम्बुलेन्स सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
ambulance-bagmati.jpg

ललितपुर । बागमती गाउँपालिकाको गिम्दी स्वास्थ्य चौकीलाई गिम्दी प्रवासी युवा समाजले एम्बुलेन्स सहयोग गरेको छ। ललितपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर ७ गिम्दी घरभइ विश्वका विभिन्न देशमा रहेर काम गरिरहेका युवाहरुले रकम संकलन गरेर एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई सहयोग गरेका हुन् । 

ललितपुर जिल्लाको अति दुर्गममा पर्ने गाउँमा जन्मेर प्रवास पुगेका नेपालीहरूले आफ्नो श्रम परिश्रम बचाएर आफ्ना गाउँका दाजुभाइ दिदीबहिनीहरुलाई स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद अभियान सञ्चालन भएको प्रवासी युवा समाजका नेपाल प्रतिनिधि एवं गिम्दी स्वास्थ्यचौकीका सिनियर अहेव कमलबहादुर आले मगरले बताए । 

एम्बुलेन्स खरीद अभियान गिम्दी घरभई मलेसियामा काम गर्दै आएका कृष्णबहादुर जर्घामगरले शुरु गरेका थिए। उनले सुरु गरेको अभियानलाई अमेरिका, दक्षिण कोरिया, जापान, कतार, रोमानिया, साउदीअरब, इराक, बहराइन, युएई मकाउ लगायत देशमा रहेका नेपालीहरुले साथ दिएका थिए । 

यो अभियानबाट जम्मा १५ लाख २८ हजार ९ सय ४९ रुपियाँ रकम संकलन भएको थियो । नेपाल सरकारबाट राजश्व छुट गराएर १० महिना भित्रै एम्बुलेन्स खरिद गरी प्रवासी युवा समाजले बागमती गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । 

प्रवासी युवा समाजद्वारा सहयोग प्राप्त एम्बुलेन्स एक कार्यक्रमबीच उद्घाटनसमेत भएको छ। बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले रिबन काटेर एम्बुलेन्सको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा जनक मा।वि।का प्रअ गोकर्ण फुयाँलले जनप्रतिनिधिहरुले गर्नुपर्ने काम यहाँका युवाहरुले गरेर राजनीति गर्ने नेता, जनप्रतिनिधिहरुलाई चुनौती दिएको बताए । उनले आफैंले पढाएका विद्यार्थी भाइबहिनीले आफ्नो गाउँमा सहयोग गरेको आफ्नै आँखाले देख्न पाउँदा खुसी व्यक्त गरे । 

वडा नम्बर ४ का वडा अध्यक्ष नारायण घलेले एम्बुलेन्स व्यवस्थापनमा ठूलो चुनौती रहेको बताए । गाउँपालिका प्रवक्तासमेत रहेका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले प्रवासमा रहेका नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्दै यो समृद्धिको अभियानमा युवाहरुले एक इट्टा थप्ने काम गरेको बताए । 

पालिका उपप्रमुख रन्जना घिमिरे तिमल्सिनाले प्रवासी नेपालीहरुले गरेको सहयोगमा हातेमालो गर्न गाउँपालिका तयार रहेको बताइन् । गिम्दी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष नवराज सञ्जेलले एम्बुलेन्स खरीदमा राजनीतिक रङ्ग नदेखेको भन्दै खुशी व्यक्त गरे ।

गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले एम्बुलेन्स संचालनका लागि गाउँपालिकाले एम्बुलेन्स व्यवस्थापन कार्यविधि तयार पारेको र सोही अनुसार एम्बुलेन्स सञ्चालन हुने बताए । 

उनले गाउँपालिकाले तयार पारेको कार्यविधि अनुसार एकदमै सहुलियतमा बिरामीलाई जिल्लाका अस्पतालमा पुर्याउन सकिने बताए । अध्यक्ष लोप्चनले यो अभियानका संयोजक कृष्णबहादुर जर्घामगरलगायत सम्पूर्ण प्रवासी नेपालीलाई हार्दिक धन्यवाद व्यक्त गरे । 

यो अभियानका संयोजक कृष्णबहादुर जर्घामगरले गिम्दी लगायत दुर्गम गाउँका जनताले समयमा उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले यो अभियान शुरु गरेको बताए । 

उनले यस क्षेत्रमा २०४८ सालपछि चुनाव जितेका जनप्रतिनिधिहरुले झुटा आश्वासन दिने मात्र काम गरेको, स्थानीय जनताप्रति जिम्मेवार बन्न नसकेकाले हामी प्रवासी युवाहरुले सहयोग गर्नुपर्ने अवस्था आएको बताए । 

उनले बागमती गाउँपालिकाका गिम्दी, आश्राङ, महाङ्काल गाउँपालिकाको ठूलादुर्लुङ, काभ्रेको खानीखोला गाउँपालिका, मकवानपुरको बकैया बाग्मती गाउँपालिका लगायतका जनताले प्रत्यक्ष रुपमा एम्बुलेन्स सेवाबाट लाभ लिन पाउने बताए । 

कार्यक्रममा सुवानेका मृगौलापीडित कमलबहादुर सिंतानलाई ८२ हजार २ सय ५५ रुपैया नगद सहयोग गरिएको थियो । त्यस्तै आगालागीबाट मृत्यु भएका सोही वडाका सानुकान्छा सिंगारको परिवारलाई २० हजार नगद आर्थिक सहयोग प्रदान गरिएको थियो । 

उक्त सहयोग रकम गिम्दी प्रवासी युवा समाज मलेसियाका संयोजक कृष्णबहादुर जर्घामगर र जापानमा रहेका चन्द्र पाण्डेको अगुवाईमा उपलब्ध गराएको थियो। 

यस्तै प्रवासी युवा समाजले यसअघि गिम्दी स्वास्थ्य चौकीलाई स्टेचर, बेड, घडीलगायत विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो भने लकडाउनको समयमा अति विपन्न परिवारलाई खाद्य सामग्री समेत उपलब्ध गराएको स्वास्थ्यचौकीका सिनियर अहेब कमलबहादुर आलेमगरले जानकारी दिए। 

उक्त कार्यक्रममा अभियानमा सहयोग गर्ने अभियन्ताका आफन्तलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ